०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङका चार स्थानीय तह गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका विभिन्न सडक, पुल, घर, खानेपानी तथा अन्य पूर्वाधारमा क्षति पुगेको थियो ।

उक्त बाढिको कारण उद्योग तथा वाणिज्य क्षेत्रमा मात्रै रु. ४५ करोड ८४ लाख ३२ हजार ५ सय बराबरको क्षति भएको सरकारी तथ्याङ्क सार्वजनिक भएपछी उक्त रकम बाढीबाट भएको समग्र क्षतिको पूर्ण विवरण नभएको भन्दै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले घटना भएको महिना दिन वितिसक्दा पनि यथार्थ विवरण संकलन नभएकोप्रति असन्तुष्टी जनाउनुभयो ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी
डल्लाकोटीका अनुसार हालसम्म गरिएको क्षति मूल्याङ्कनमा घर तथा घरायसी संरचना, फर्निचर, विद्युतीय उपकरण, अन्न भण्डारण लगायत घरायसी सामग्री, गरगहना तथा नगद सम्पत्ति, जग्गा–जमिन तथा कृषियोग्य भूमिको क्षति पूर्ण रूपमा समेटिन सकेको छैन । त्यसैगरी विद्यालय, स्वास्थ्य चौकी, सडक, पुल, खानेपानी प्रणालीलगायत सरकारी संरचनामा भएको क्षति तथा पर्यटन क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको समेत समग्र मूल्याङ्कन हुन बाँकी र सबै क्षेत्रको क्षति समेटिन नसकेको अवस्थामा सरकारले सार्वजनिक गरेको रु. ४५ करोड ८४ लाखभन्दा वास्तविक समग्र क्षति धेरै गुणा बढी हुनसक्ने अध्यक्ष डल्लाकोटीको भनाइ छ ।

बाढीबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न सबै क्षेत्रलाई समेटेर विस्तृत तथा वैज्ञानिक क्षति आकलन तत्काल गर्न संघले सरकार समक्ष माग गरेको छ । यस्तो मूल्याङ्कनबाट मात्रै प्रभावित नागरिक तथा व्यवसायीका लागि आवश्यक राहत, पुनर्स्थापना र पुनर्निर्माणका योजना यथार्थपरक बनाउन सकिने धादिङ उद्योग वाणिज्य संघको ठहर छ ।

भोटेकोशी बाढीले धादिङको उद्योग–व्यवसायसँगै जनजीवन, कृषि, आवास, सार्वजनिक संरचना र स्थानीय पूर्वाधारमा समेत गम्भीर प्रभाव पारेकाले क्षतिको एकीकृत विवरण तयार गर्न आवश्यक रहेको धादिङ उद्योग वाणिज्य संघले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल