'कतिन्जेल जोखिमपूर्ण यात्रा गर्ने ? बाटो कहिले बन्छ ? पुल कहिले बन्छ ? जनताको समस्या कहिले सुनिन्छ ?’—दसैँ नजिकिँदै गर्दा धादिङवासीको प्रश्न यही बनेको छ ।

उपत्यकाबाट दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढ्दै गएको छ । नेपालीको प्रमुख पर्व दसैँमा घर पुग्ने तयारीमा रहेका यात्रुका लागि भने यसपटकको यात्रा सहज छैन । भदौ १० गते भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले धादिङको मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेँसी र पृथ्वीराजमार्गबीचको मुख्य सडक सम्पर्क अझै सहज रूपमा जोडिन सकेको छैन । पुल बगेको आज ४२ दिन पुगेको छ । तर, पुल पुनर्निर्माण वा तत्कालीन विकल्पका रूपमा बेलीब्रिज निर्माणको कामले अपेक्षित गति लिन नसक्दा दसैँको मुखमा धादिङवासी थप जोखिमपूर्ण र कष्टकर यात्राको सामना गर्न बाध्य छन् ।
फुर्केखोला पुल धादिङको सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने महत्वपूर्ण सडक संरचना थियो। पुल सञ्चालनमा रहँदा यसमार्फत दैनिक करिब २०० यात्रुबाहक, १५० मालवाहक तथा ३०० हाराहारीमा साना तथा दुईपाङ्ग्रे सवारीसाधन आवतजावत गर्ने गरेका थिए। यो सडक धादिङका आठ स्थानीय तह, गोरखाका दुई स्थानीय तह तथा मनास्लु पर्यटन पदमार्गसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण यातायात मार्गसमेत हो । दुई लाखभन्दा बढी जनसंख्या प्रत्यक्ष रूपमा प्रभावित हुने यो सडकको महत्व धादिङबेँसी आसपासमा मात्र सीमित छैन ।
पुल बगेपछि सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, गंगाजमुना, खनियाबास, रुबीभ्याली र नीलकण्ठ क्षेत्रबाट सदरमुकाम तथा पृथ्वीराजमार्गतर्फ हुने आवतजावतमा समेत कठिनाइ थपिएको छ । सदरमुकामसँग जोडिने प्रमुख मार्गमै अवरोध आएपछि दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि बिरामीको उपचार, विद्यार्थीको आवतजावत र अत्यावश्यक सेवासम्म प्रभावित भएका छन् ।

वैकल्पिक सडक छन्, तर यात्रा सहज छैन
बाढीबाट धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि यातायात सञ्चालनका लागि चारवटा वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा अघि सारिएको थियो । धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार, धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार तथा परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार हुँदै जाने मार्गलाई विकल्पका रूपमा प्रयोग गरिएको छ । धादिङबेँसी–टारीबेँशी–सल्यानटार–आरुघाट हुँदै गोरखा, आँबुखैरेनी, चितवन र पोखरातर्फ जाने मार्ग पनि वैकल्पिक रूपमा प्रयोग भइरहेको छ । तर, यी सडकमध्ये धेरैजसो कच्ची, साँघुरा र ठाउँ–ठाउँमा बिग्रिएका छन् । हिलो, खाल्डाखुल्डी, उकालो–ओरालो तथा पर्याप्त ग्राभेल र मर्मतसम्भारको अभावले ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ ।
धादिङबेँसीबाट मलेखुतर्फको सडक पनि दर्जनौँ ठाउँमा भत्किएको छ। वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेपछि सडक व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ । सामान्य वर्षा हुँदा समेत यातायात अवरुद्ध हुनसक्ने अवस्था रहेको यातायात व्यवसायीहरू बताउँछन् । धादिङ मण्डली यातायात प्रालिका फिल्ड इन्चार्ज सिताराम भट्ट "जय" का अनुसार अहिले सञ्चालनमा रहेका वैकल्पिक सडकहरू कामचलाउ प्रकृतिका मात्र छन् । ‘कच्ची सडकमा ग्राभेल र मर्मतसम्भार हुन सकेको छैन । अधिकांश सडकमा सवारीसाधन दोहोरो क्रस हुन सक्दैनन्,’ भट्टले भन्नुभयो, ‘कतिपय मोडमा त कटिङसमेत नपुग्ने अवस्था छ । ब्याक गरेर अघि बढ्नुपर्ने हुन्छ । केही सडक यति भिराला छन् कि यातायातका साधन गुडाउनै समस्या हुन्छ । उहाँका अनुसार दसैँसम्म यात्रुको चाप अझै बढ्ने भएकाले यात्रा थप कष्टकर बन्न सक्ने अवस्था छ ।‘दसैँमा घर पुग्न ठूलै युद्ध जितेजस्तो हुने भयो’ दसैँका लागि उपत्यका तथा देशका विभिन्न स्थानबाट धादिङ फर्किने यात्रुको संख्या बढ्दै गएको छ । तर, सडकको अवस्थाका कारण यात्रुहरूमा घर पुग्न सकिने समयबारे नै अन्योल छ । पुल सञ्चालनमा हुँदा सहज रूपमा केही घण्टामै पूरा हुने यात्रा अहिले घुमाउरो वैकल्पिक सडक हुँदै जोखिम मोलेर गर्नुपर्ने अवस्था छ । यात्रुले लामो दूरी, सडकको खराब अवस्था र सवारीसाधनको चापका कारण थप सास्ती बेहोर्नुपर्ने अवस्था आएको छ ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले "विशेषगरी नजिकिँदै गरेका चाडपर्वका समयमा आवतजावत तथा उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन तत्काल वैकल्पिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।" उहाँले दसैँजस्तो ठूलो पर्वमा गाउँ फर्किने यात्रु, ज्येष्ठ नागरिक, बालबालिका, बिरामी,महिलाका तथा दैनिक कामकाजका लागि समेत सहज सडक सम्पर्क अत्यावश्यक रहेको बताउनुभयो ।

जनप्रतिनिधिसँग नागरिकको प्रश्न : ‘पहल कहाँ छ ?’
फुर्केखोला पुल बगेपछि सडक सम्पर्क पुनःस्थापित गर्न तत्कालीन र दीर्घकालीन विकल्पबारे चर्चा हुँदै आए पनि नागरिकले अपेक्षित गतिमा काम अघि बढ्न नसकेको गुनासो गरेका छन् । जिल्लामा विभिन्न तहका जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वको उपस्थिति हुँदाहुँदै सडक र पुल निर्माण तथा मर्मतका लागि प्रभावकारी पहल हुन नसकेको भन्दै नागरिकले प्रश्न उठाउन थालेका छन् ।
धादिङबाट प्रतिनिधिसभा र बागमती प्रदेशसभामा गरी १४ जना सांसद प्रतिनिधित्व गर्छन् । स्थानीयस्तरमा नागरिकले जिल्लाका निर्वाचित सांसदहरूसहित पूर्व जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई समेत समेटेर सरकारसँग समन्वय, छलफल र दबाबमार्फत तत्काल पुल निर्माणको पहल गर्नुपर्ने माग गरिरहेका छन् । विशेषगरी फुर्केखोलामा तत्काल बेलीब्रिज निर्माण गरी धादिङबेँसी–पृथ्वीराजमार्ग सडक सम्पर्क सहज बनाउनुपर्ने नागरिकको माग छ ।
नागरिकको चासो अहिले केवल पुल कहिले बन्छ भन्नेमा मात्र सीमित छैन । दसैँमा घर फर्किने यात्रुको सुरक्षा कसरी सुनिश्चित गर्ने, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी कसरी सहज बनाउने, बिरामीलाई अस्पतालसम्म कसरी पुर्याउने र आकस्मिक अवस्थामा उद्धार तथा उपचार सेवा कसरी प्रभावकारी बनाउने भन्ने प्रश्नसमेत जोडिएको छ ।

दसैँअघि नै अस्थायी संरचना बनाउन माग
फुर्केखोला पुल तत्काल पुनर्निर्माण गर्न समय लाग्ने भए पनि अस्थायी रूपमा बेलीब्रिज निर्माण गरी यातायात सञ्चालन गर्ने विकल्पलाई प्राथमिकतामा राख्नुपर्ने आवाज बलियो हुँदै गएको छ ।
दसैँको मुखमा यात्रुको चाप बढ्ने भएकाले अहिलेको वैकल्पिक सडकले मात्र धान्न नसक्ने व्यवसायी तथा स्थानीयको भनाइ छ। सडक स्तरोन्नति, ग्राभेल, नाली तथा आवश्यक स्थानमा कटिङ र चौडा बनाउने कामसँगै पुलको अस्थायी विकल्प निर्माण गर्नुपर्ने उनीहरूको माग छ । नागरिकको भनाइमा बाढीले पुल बगाएको ४२ दिन बितिसक्दा पनि समस्या समाधानको स्पष्ट र परिणाममुखी काम देखिन नसक्नु चिन्ताको विषय हो । विपद्ले क्षति पुर्याएको संरचना पुनर्निर्माण केवल विकास निर्माणको विषय नभई नागरिकको दैनिक जीवन, स्वास्थ्य, शिक्षा, व्यापार र आवागमनसँग प्रत्यक्ष जोडिएको विषय हो ।
दसैँ नजिकिँदै जाँदा धादिङवासीको एउटै प्रश्न छ—‘अब कति दिन जोखिमपूर्ण यात्रा गर्ने ? फुर्केखोला पुल कहिले बन्छ ?’
समयमै अस्थायी संरचना निर्माण गरी सडक सम्पर्क सहज बनाउन नसकिए दसैँमा घर फर्किने यात्रुले थप सास्ती बेहोर्नुपर्ने देखिन्छ। त्यसैले अहिले नागरिकको अपेक्षा आश्वासनभन्दा काममा र प्रचारभन्दा परिणाममा केन्द्रित छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल