ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन ६ खेल भएको छ ।
प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा सञ्चालन हुने छ,बागमती प्रदेश भित्रका २२ वटा पालिका सहभागिता रहेको यस प्रतियोगितामा समूह चरणका खेलहरु वेस्ट अफ थ्रीमा खेलाईएको छ भने क्वारफाइनलदेखि वेस्ट अफ फाइब हुनेछ। प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा आगामी चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आइतबार महिलातर्फ दुई र पुरुषतर्फ तीन खेल सम्पन्न भएको हो। महिलातर्फको पहिलो खेलमा महालक्ष्मी नगरपालिका ललितपुरले निलकण्ठ नगरपालिका धादिङलाई २–१ को सेटमा हरायो। पहिलो सेट २५–१३ ले जितेको निलकण्ठले दोस्रो सेट २७–२५ ले गुमाएपछि खेल तेस्रो सेटमा पुगेको थियो। जसमा महालक्ष्मी १५–१२ को स्कोरमा विजयी भयो। महिलातर्फको दोस्रो खेलमा ललितपुर महानगरपालिकाले हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकलाई २५–१३, २५–९ को स्कोरमा हराउँदै विजयी सुरुआत गर्यो। यस्तै, पुरुषतर्फ महांकाल गाउँपालिका ललितपुरले पंञ्चकन्या गाउँपालिका नुवाकोटलाई २५–२०, २५–२० को स्कोरमा हरायो। दोस्रो खेलमा ललितपुर महानगरपालिकाले मेलुंग गाउँपालिका दोलखालाई २५–१८, २५–१९ को स्कोरमा पराजित गर्यो। तेस्रो खेलमा खाडाँदेवी गाउँपालिका रामेछापले पनौती नगरपालिका काभ्रेलाई २५–१४, २९–२७ ले पराजित गर्दै विजयी सुरुआत गर्यो। चौथो तथा दिनको अन्तिम खेलमा गल्छी नगरपालिका धादिङ मन्थली नगरपालिका रामेछापसँग १६–२५, १०–२५ ले पराजित भयो ।
प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन् । नयाँ प्रतिभाशाली खेलाडीहरुले प्रतिभा देखाउन पाउने र बागमती प्रदेश पालिकाहरुबीच सुमधुर सम्बन्ध विकास गर्ने सुनौलो अवसर भएकाले सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल