पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएका छन् । कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनसँगै आर्थिक संकलनमा पनि वृद्धि भएको छ । शनिबार पोखराका शेरबहादुर गुरुङले एक लाख एक सय पाँच, म्याग्दीका रामचन्द्र जिसीले ५१ हजार एक सय ११ रुपैयाँ दान गरेको बताइन्छ । कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी छ । आज बिहान ८ बजेर ५ मिनेटमा हवन कुण्डमा हवन गरिएको थियो । हवन कार्य जेठ २६ गतेसम्म चल्ने प्रचारप्रसार संयोजक ढकालले जानकारी दिए । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।
आजदेखि खुला भजन चुट्का प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गर्ने संयोजक प्रजापति पराजुलीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ ।
वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल