कास्की,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम सहित धार्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएको छ ।
महायज्ञको आठौँ दिनमा १०० जना बटुकहरुको समुहिक ब्रतबन्ध सम्पन्न भएको छ भने हालसम्म करिब ५०० जना बटुकहरुको ब्रतबन्ध गरिसकिएको छ । १०० जना जेष्ठ नागरिक आमा–बुवाहरूको चौरासी पूजासमेत विधिपूर्वक सम्पन्न गरिएको छ। चौरासी पूजामा सहभागी जेष्ठ नागरिकहरूको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै वैदिक विधिअनुसार पूजापाठ गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देल, बिशेष अतिथिमा किरात धर्मगुरु चन्द्रकुमार शेर्मा रहेका थिए । महायज्ञलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिन्देलले धर्मको नाममा राजनीति गर्नु आमाको रगत खानु सरह भएको कडा टिप्पणी गरेका छन्। उनले धर्मलाई संकीर्णताको रुपमा नबुझ्न र समाज रुपान्तरणको माध्यमका रुपमा लिनुपर्नेमा जोड दिए। “धर्म भनेको जीवनशैली हो, यसलाई शक्ति, पद र स्वार्थको हतियार बनाउनु दुर्भाग्यपूर्ण हो,” लिन्देलले भने ।
गण्डकी प्रदेश सरकारकी सचिव कमला दाहालले विशेषगरी वृद्धवृद्धा, बालबालिका र अपांग व्यक्तिका लागि संरक्षित आवासका रुपमा यो आश्रम सञ्चालन गरिने बताउँदै सामाजिक उत्तरदायित्वका कार्यमा सरकार प्रतिबद्ध रहेको प्रस्ट पारिन् ।
कास्की जिल्लामा १३ रोपनी जग्गामा ‘मामाघर आश्रम’ स्थापना गरिने विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जीले समेत जानकारी दिएका छन् । श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबार देखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन सुरु गरेका छन्। उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।
विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन्।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल