नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमिक्षा गरेर अघि बढाइरहेको बताउनुभयो।
अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोटको भेरी नगरपालिकामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरेको हो। कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढेको बताउनुभयो। गाउँ–गाउँमा सडक पुगेको, तर नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने प्रदेश सरकार कमजोर भएको र जनतामा यसको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै वक्ताहरूले संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफू प्रधानमन्त्री रहेका बेला भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारका काम सुरु गरिएको बताउनुभयो। “मैले त्यतिबेला तत्कालै बजेट पनि छुट्याएको थिएँ,” उहाँले भन्नुभयो, “तर त्योअनुसार काम हुन नसक्नु दुःखद कुरा हो। अहिले पुनःस्थापनाको काममा गति दिनुपर्छ भन्ने मागलाई म सरकारले ध्यानमा राख्न आग्रह गर्छु।” अध्यक्ष प्रचण्डले संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोलाई सम्बोधन गर्दै संघीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गर्नुभयो। “संविधान कार्यान्वयनका लागि म प्रधानमन्त्री हुँदा प्रदेश समन्वय बैठक बसेको थियो,” उहाँले भन्नुभयो, “कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयक र उच्च शिक्षा सुधारका लागि तयारी गरिएको थियो, ती काम अघि बढ्नुपर्छ।”
उहाँले यो अभियान पार्टीका कमजोरी सच्याउँदै जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास रहेको बताउनुभयो। “यो आत्मसमिक्षाको अभियान हो,” उहाँले भन्नुभयो, “अब हामी रुकुमतर्फ अघि बढ्दैछौं।”
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल