पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ ।
मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालले शनिबार कम्तीमा पनि तीन लाख ५० हजार भक्तजन कोटीहोममा आउने दावी गरे । कोटीहोममा हालसम्म २३ लाख ५० बढी भक्तजन सहभागी भएको उनले जानकारी दिए ।शनिबारका लागि विभिन्न जिल्लाबाट भक्तजन बोकेर ५५ वटा गाडी शुक्रबार नै पोखरा भित्रिसकेको र दुई सय ५० वटा गाडी आउँदै गरेको उनको भनाइ छ । अन्य दिनको तुलनामा शनिबार ऐतिहासिक हुने उनको दावी छ ।हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । कोटीहोमको समयावधि थप भएसँगै उनले जेठ ३१ सम्म कथा वाचन गर्नेछिन् ।
कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो ।
पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल