श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
कोटीहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा वैशाख १७ देखि जेठ ३१ सम्म सञ्चालन भएको थियो । यसअघि कोटीहोम जेठ २६ गते समापन हुने भनिए पनि भक्तजनको चापका कारण समयावधि थप भई ३१ गतेसम्म सञ्चालन भएको थियो । संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गरे । समापन कार्यक्रममा कोटीहोम सम्पन्न गर्न सघाउने सबैप्रति आभार व्यक्त गरे । कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए । मामाघर अनाथ आश्रम बनाउनका लागि पाँच लाख, कोटीहोमका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । कोटीहोममा आयोजित रक्तदानमा नौ सय छ युनिट रगत संकलन भएको छ । साथै कोटीहोममा हालसम्मकै ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियोगिता तथा वक्तृत्वकला भएको थियो । जेठ २६ गते पूर्णाहूति भएको हवनमा चार सय ब्राम्हणद्वारा एक करोड ५० लाख हवन भएको थियो । कोटीहोममा पाँच सय २५ जनाको आयोजित ब्रतवन्ध, एक सय २० जनाको तुलादान, एक सय ३५ जनाको चौरासी पूजा, एक सय ४६ जनाको नवग्रह शान्ति, १४ जनाको काल सर्प योग पूजा, पाँच जनाको अर्क विवाह, अष्ट महादान चार, पितृको अर्चना ३३, लघु रुद्री पाँच, अति रुद्री १८, विवाह एक, गुन्यू चोली पाँच, लाखवत्ती सेवा २२ अन्य पूजा ४५ जनाले गरेको प्रचारप्रसार संयोजक लोकराज ढकालले जानकारी दिए ।

कोटीहोमको हवन पूर्णाहूतिमा २१ करोड दीप प्रज्ज्वलन गरिएको थियो । कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार आठ नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गरेका थिए ।कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासी, अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, अनुराधा पाण्डे, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरेका थिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल