आज हिन्दू धर्मावलम्बीहरूले नागदेवताकाे पूजा–आराधना गरी घरका मूलढोकामा नागदेवता टाँसेर मनाइँदै छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोका, दुवैपट्टि वा कुलस्थानमा नागका चित्र टाँसी दूध, अक्षता, फूल, दुबो, सुपारी आदि अर्पण गरी पूजा गरिन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

काठमाडौं उपत्यकाको तौमढी, नागपोखरी, सिद्धहस्त नागस्थान, टेकु नागस्थान लगायतका स्थानमा विशेष पूजा–आराधना हुने गर्दछ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल