नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज मंगलबार बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकार गठनका लागि दिएको दिउँसो २ बजेको समयपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम तय गरेको छ । बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

९ साउनमा आफ्नै सांसदले हालेको अविश्वासको प्रस्तावको १३ साउनमा मतविभाज हुँदा अल्पमतमा पर्दै लामाले दल नेताको हैसियत गुमाएका थिए । १४ साउनमा भएको संसदीय दलको निर्वाचनमा लामालाई हराएर बानियाँ दलको नेता चयन भएका थिए । ११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

बागमतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति थियो । जसअनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गरी आगामी फागुनमा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल