बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् ।

मुख्यमन्त्री बानियाँले आज सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गरेका हुन् । बागमतीमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षले आफ्ना पक्षका ३ जना सांसद धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गिता गुरूङलाई मन्त्री नियुक्त गर्नुपर्ने अडान लिँदै आएको थियो । तर बानियाँले बहादुर पक्षका सांसदलाई सरकारमा लगेनन् ।निवर्तमान मुख्यमन्त्री लामाले केन्द्रीय नेतृत्वहरूले ३ जनालाई मन्त्री बनाउने सहमति कार्यान्वयन हुने प्रतिबद्ध दिलाएपछि विश्वासको मत दिएको बताएका थिए । लम्साल, श्रेष्ठ र गुरूङलाई मन्त्री बनाउने सहमति कांग्रेस सभापति देउवासहित बानियाँ र लामाबीच पूर्वसहमति भएको दाबी गरिएको थियो । आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले ६ वटा मन्त्रालय लिएको थियो । निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसभित्रको विवाद समाधानका लागि भन्दै संस्कृति तथा पर्यटन र सामाजिक विकास मन्त्रालय फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गरेपछि मन्त्रालय संख्या १४ पुग्यो भने कांग्रेसले थप एउटा लिएको हो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल