चालु आर्थिक वर्ष २०८२ वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटे,विपद् घटनामा परी १ सय २६ जनाको ज्यान गएको छ । सो अवधिमा ५ सय ८५ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा पहिरो, डुबान, चट्याङ, आगलागी, बाढी लगायतका घटनाले ठूलो जनधनको क्षति पुर्याएको छ । प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन् । अनुमानित क्षति रु ३८ लाख ४० हजार बराबर भएको छ । विपद्का प्रभावितको खोज, उद्धार र राहतका लागि एक सय ४० प्रहरी परिचालन गरिएको छ । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् । विपद् मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । त्यसैगरी आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एकवटा विपद्का घटना घटेका छन् ।

प्रभावित परिवारलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाको कार्य भइरहेका छन् । साथै, भविष्यमा यस प्रकारका विपद् घटनाबाट हुन सक्ने क्षति कम गर्न पूर्वतयारी र सचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताइएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल