आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा कुवेतमाथि नेपालको सहज जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । आफ्नो पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित निकालेको हो । कुवेतका क्लिन्टो एन्टोले २६ र यासिन इशाक पटेलले १९ रन बनाए । भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा २० रनको क्यामिओ पारी खेले । उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए । नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई तथा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट लिए ।

यो जीतसँगै समूह ‘बी’मा रहेको नेपालले महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । अब नेपालले भोलि जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ । सुपर–सिक्समा छ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल