मनाङस्थित तिलिचो बेसक्याम्पमा अत्यधिक हिमपातका कारण धादिङका ९ वर्षका एक बालकसहित नौ जना नेपाली र विदेशी पर्यटक अलपत्र परेका छन् ।

धादिङबाट तिलिचो भ्रमणका लागि गएका रेशु अधिकारी लगायतको टोलि तिलिचो बेस क्याम्पमा फसेका हुन् । तिलिचो बेस क्याम्पमा रहेका नीलकण्ठ न पा-३, धादिङका रेशु अधिकारी (३९), पार्वती भण्डारी अधिकारी (३४) र आरोन अधिकारी (१०), नीलकण्ठ–३ का अशोककुमार बस्नेत (४४), शिरीषा बस्नेत (४०), इवराज थापा क्षेत्री (४०), इन्द्रकुमारी थापा (३९), नविना थापा (२१) र नवीन थापा (१८) रहेका छन् । त्यस्तै पर्सा वीरगन्जका रिजन मानन्धर (२३) र चितवन भरतपुरका सिजन मैनाली (२३) पनि बेसक्याम्पमै अड्किएका हुन् ।
रेशु अधिकारीले आफ्ना परिवार र साथीसहित हामी बेस क्याम्पमै छौं । सोमबार साँझ तिलिचो ताल पुगेर फर्किने क्रममा हिमपात सुरु भएपछि बेसक्याम्पमै रोकिएको हिउँको मात्रा धेरै बढेकाले तल झर्न नसक्ने अवस्था छ । अत्याधिक चिसोका कारण सञ्चार सम्पर्क पनि टुटेको जानकारी दिए । सानो बच्चा र बाक्लो हिउँका कारण तल झर्न सकिएको छैन,उनले भने ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार स्थानीय होटल व्यवसायीहरूसँग समन्वय गरी सबैलाई सुरक्षित स्थानमा राखिएको छ । मौसम खुल्नेबित्तिकै उद्धार कार्य सुरु गरिनेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल