आज साँझ देखी नीलकण्ठ नगरपालिका–१२ स्थित पशुपति मन्दिरमा मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने मेला आज लाग्दै छ ।

पशुपति क्षेत्र विकास कोष धादिङका अध्यक्ष मिलन भण्डारीका अनुसार मेलाका औपचारिक उद्घाटन बेलुका ५ बजे नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिम प्रसाद ढुङगानाले गर्ने तय भएको छ । मेलाको समयमा सम्भावित दुर्घटना, हराउने–भेटिने तथा स्वास्थ्य आपतकालीन अवस्थालाई ध्यानमा राखी मोबाइल स्वास्थ्य क्याम्प, एम्बुलेन्स र प्रहरी सहायता कक्ष स्थापना गरिने कोषले जनाएको छ । भीड नियन्त्रणका लागि पैदल मार्ग निर्धारण, सवारी साधन प्रवेशमा रोक, अस्थायी पार्किङ स्थल निर्माण, र CCTV निगरानी विस्तार गरिँदैछ । भक्तजनलाई अवरोध नहोस्, सुरक्षा सहज रहोस् र परम्परागत विधि सुरक्षित ढंगले सम्पन्न होस् भन्ने उद्देश्यले यस वर्ष विशेष मोडेल अपनाइएको छ ।

पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रका होटल, पसल तथा धार्मिक सामग्रीका व्यवसायीहरू पनि व्यस्त बन्न थालेका छन् । मेलामा विशेष गरी वृद्धवृद्धा तथा परोपकारमा रुचि राख्ने भक्तहरूको उल्लेख्य उपस्थिति हुने गर्छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल