नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४ ओैं सभा पोखरामा सम्पन्न भएको छ ।

न्यूरोड स्थित दिपसागर होटलमा माघ ९ र १० गते दुई दिनसम्म चलेको उक्त सभा पोखरा शाखाको आतिथ्यतामा भएको थियो । गण्डकी विश्व विद्यालयका कुलपति प्रा.इन्द्र प्रसाद तिवारीज्यूको प्रमुख आतित्थ्यता तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्य नारायण सुवालको अध्यक्षतामा सम्पन्न उक्त सभामा २६५ जनाको सहभागिता रहेको थियो । उक्त सभालाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि तिवारीले नयाँ युवा पिंढीमा जङ्कफुड र मुटुरोगका कारक तत्व मानिएका खानाहरूबाट टाढा रहन सचेतनामूलक कार्यक्रम गर्नुपर्ने आजको आवश्यकता रहेको चर्चा गर्नुहुँदै सरकारी तथा विभिन्न निकायहरू समेतलाई एकिकृत गरि एउटा सञ्जाल बनाई मुटुरोग नियन्त्रणका लागि साझा कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

२०४५ सालमा केन्द्रिय कार्यालय स्थापना गरी हाल ७७ वटै जिल्लामा शाखा विस्तार गरिएको छ । नसर्ने रोग मध्ये प्रमुख मानिएको प्राणघातक मुटुरोगको कारण धेरै मानिसको अकालमा मृत्यू भईरहेकोले मुटुरोगको बारेमा सुसुचित गराउने, मुटुरोग लाग्नबाट जोगिन खानपानमा सुधार गर्नुपर्ने, नियमित व्यायाम गर्नुपर्ने साथै नियमित स्वास्थ्य जाँच गराउनु पर्ने बारेमा देशभर अभियान संचालन गरिरहेको छ । पछिल्लो तत्थ्यांक अनुसार नसर्ने रोगहरु मध्ये विश्वभर करिब ३२ प्रतिशत मानिसको मुटुरोगका कारण अकालमा मृत्यू भएको कुरा सार्वजनिक भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाश राज रेग्मीले मुटुरोग रोकथाममा सुसुचित गराउन नेपाल हृदयरोग निवारण प्रतिष्ठानको स्थापना भएकोले नियमित रुपमा काम गरिहेको छ । सोहि अवसरमा स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण समेत दिनु भएको थियो । सोही कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेशका निमित्त स्वास्थ्य सचिव डा. रमेश के.सी. ले मुटुरोगको रोकथामको लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । हुनेखाने ऐसआराममा विलासी जीवन यापन गर्ने समुहलाई बढि हुने यस मुटुरोगको बारेमा जागरण ल्याउन निजीक्षेत्रको समेत सहकार्य हुन आवस्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीले वताउन भयो ।

वार्षिक सभामा नियमित रूपमा प्रदान गर्दै आइरहेको चार वटा सम्मान तथा पुरस्कार डा. प्रचण्ड प्रधानलाई मुटुराेग निवारणका सन्दर्भमा चेतना अभिबृद्धिका साथै प्रतिष्ठानकाे व्यवस्थापकीय पक्षमा सुधार ल्याउने कार्यमा उल्लेख्य रूपमा पुर्याउनु भएकाे याेगदानकाे कदर गर्दै "मृगेन्द्र सम्झना चिकित्सा गुठी आेरेसन सम्मान- २०८२ " बाट सम्मान गरिएकाे छ । त्यसैगरी प्रतिष्ठानकाे ललितपुर शाखामा मुटुराेगीहरूलाई विभिन्न किसिमले लामाे समयदेखि निरन्तर सेवा पुर्याएकाे कार्यकाे कदर गर्दै रूपक कान्त राजाेपाध्यायलाई " स्व. दामाेदरराज शर्मा मुटुराेगी सेवा पुरस्कार- २०८२" बाट रू २५,०००/- सहित सम्मान गरिएकाे छ । सम्मानकै क्रममा मुटुराेगीहरूलाई विभिन्न किसिमले लामाे समयदेखि निरन्तर सेवा पुर्याएकाे कार्यकाे कदर गर्दै डा. सुमन्त बन्जाडेलाई "मृगेन्द्र सम्झना चिकित्सा गुठी सेवा पुरस्कार -२०८२ बाट रू २५०००/- सहित सम्मान गरिएकाे छ । त्यसैगरी बाथ मुटुराेग निवारणका सन्दर्भमा जनचेतना अभिबृद्धि, उपचार एवं प्रतिकारका क्षेत्रमा विशिष्ट याेगदानकाे कदर गर्दै डा. प्रेमराज बैद्यलाई " बाथ मुटुराेग निवारण पुरस्कार-२०८२ बाट रू २५०००/- सहित सम्मान गरिएकाे छ । साेही सभामा कार्यदक्षताका आधारमा प्रतिष्ठानकाे सर्लाही शाखालाई रू ५०,०००/- सहित शाखा प्राेत्साहन पुरस्कार र मकवानपुर शाखालाई सर्वाेत्कष्ठ शाखा पुरस्कारबाट सम्मान गरिएकाे छ ।

उक्त कार्यक्रमकाे दाेस्राे दिन माघ १० गते सहभागीहरूबाट पाेखराकाे न्युराेड, महेन्द्रपूल , नयाँबजार हुँदै पुन: न्युराेडसम्म प्रतिष्ठानकाे लाेगाे अंकित टिशर्ट,ज्याकेट र टाेपीकाे पहिरन सहित प्रभातफेरि कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे भने प्रतिष्ठानका केन्द्रीय महासचिव काेमल प्रकाश घिमिरेले प्रस्तुत गर्नुभएकाे आ.व.०८१/०८२ काे वार्षिक प्रतिवेदन तथा र कोषाध्यक्ष उत्तम लाल श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन छलफल पश्चात् सर्वसम्मतिबाट पारित गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङका सभापति तथा केन्द्रिय सदस्य राजकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल