फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले धादिङमा चुनावी सरगर्मी बढाएको छ । मतदाताका राजनीतिक गफले चिया अड्डा, चोक–चौतारा व्यस्त बनेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर चुनावी माहोल तातेको छ । उम्मेदवारहरू मतदाताको घरदैलो कार्यक्रम, चुनावी सभा र भेटघाटमा सक्रिय देखिएका छन् । धादिङ क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा (संयुक्त) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । धादिङ–२ को चुनावी भिडन्त अझै रोचक हुने देखिन्छ । क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाभित्रका १३ स्थानीय तहमध्ये यस निर्वाचन क्षेत्र अन्तर्गत रुबीभ्याली, गंगाजुमना, खनियाबास, नेत्रावती, त्रिपुरासुन्दरी र ज्वालामुखी गरी ६ वटा गाउँपालिका तथा नीलकण्ठ नगरपालिका पर्दछन् । यहाँका नागरिकले मुख्यतः कांग्रेस,एमाले,नेकपा(संयुक्त),राप्रपा र रास्वपाबीच प्रतिस्पर्धा हुने आकलन गरिरहेका छन् ।

शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसाय र रोजगारीका लागि धादिङका दुर्गम क्षेत्रबाट बजार क्षेत्रमा बढ्दो जमातका कारण धादिङ क्षेत्र नम्बर– २ मा पर्ने धादिङबेशीको धादिङलाई नै मुख्य चुनावी केन्द्रका रूपमा हेरिएको छ । उम्मेदवार र कार्यकर्ताले गर्ने अबको मिहिनेतले जुनसुकै उम्मेदवारको पक्षमा पनि नतिजा आउने अवस्था धादिङ–२ ले देखाउँछ । क्षेत्र नम्बर २ का प्रमुख उम्मेदवारहरूमा नेपाली काँग्रेसबाट रमेशप्रसाद धमला,नेकपा एमालेबाट धन बहादुर घले,नेकपा बाट राम बहादुर भण्डारी, रास्वपा बाट बोधनारायण श्रेष्ठ, राप्रपा बाट सुरेश रिजाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विरमान तामाङ रहेका छन् । यसरी धादिङ–२ क्षेत्रमा पुराना दलका अनुभवी नेताहरू र नयाँ उम्मेदवारबीच मतको विभाजन र रणनीतिक भिडन्त केन्द्रबिन्दु बन्ने देखिएको छ ।

२०७९ को निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार रामनाथ अधिकारी विजयी भएका थिए। अधिकारीले ३४,४८३ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार खेम लोहनी लाई हराएका थिए । लोहनीले २३,९५० मत पाएका थिए । यसरी अधिकारीले १०,५३३ मतान्तरले विजय हासिल गरेका थिए । २०७९ सालमा कांग्रेसले २० हजार ९५७ मत ल्याउँदा एमालेले १६ हजार २७५ मत ल्याएको थियो । माओवादीले ११ हजार ४९४, राप्रपाले ७ हजार ६३०, रास्वपाले ५ हजार ६२८ र एकीकृत समाजवादीले २ हजार ९३४ मत ल्याएको देखिन्छ । यसो गर्दा कुल मत करिब ६० हजार हुन आउँछ । त्यतिबेला कुल ६६ हजार ७५४ मत खसेको थियो । बाँकी मत साना दल र स्वतन्त्र उम्मेदवारहरुले होल्ड गरेको अवस्था थियो ।

उता कांग्रेस पनि ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्दै नयाँ नेतृत्वसहित चुनावमा गएको छ । एमालेले अरू दललाई विदेशबाट परिचालित भन्दै आफूलाई राष्ट्रिय शक्तिको रुपमा उभ्याउँदै चुनावी प्रचारमा जाने २०७४ को नीति दोहोर्याउन खोजेको जस्तो देखिन्छ । यी सबै अवस्था हेर्दा धादिङ–२ को चुनावी भिडन्त अझै रोचक हुने देखिन्छ । उम्मेदवार र कार्यकर्ताले गर्ने अबको मिहिनेतले जुनसुकै उम्मेदवारको पक्षमा पनि नतिजा आउने अवस्था धादिङ–२ ले देखाउँछ । त्यसबाहेक नयाँ दलको रुपमा आएका उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीले तान्नसक्ने मतदाताले पनि चुनावी परिणामलाई केही हदसम्म प्रभाव पार्न सक्ने अनुमान गर्न सकिन्छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार हालको तथ्यांकअनुसार धादिङ जिल्लामा कुल मतदाता संख्या २ लाख ७५ हजार २ सय ८० रहेको छ। तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३६ हजार ३ सय ८६ मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ३८ हजार ५ सय ९४ मतदाता कायम छन् । मतदाताको संख्याका हिसाबले क्षेत्र नम्बर २ मा क्षेत्र नम्बर १ भन्दा केही बढी मतदाता रहेका छन् । जिल्लाभित्रका १३ स्थानीय तहमध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सदरमुकामसमेत रहेको नीलकण्ठ नगरपालिकामा शहरी मतदाताको संख्या उल्लेख्य छ भने चीनसँग सिमाना जोडिएको रुबीभ्याली गाउँपालिकामा भने सबैभन्दा कम मतदाता रहेका छन् ।

नागरिकले मुख्यतः एमाले, कांग्रेस, कम्युनिस्ट, राप्रपा र रास्वपाबीच प्रतिस्पर्धा हुने आकलन गरिरहेका छन् । पुराना दलहरूले सांगठनिक एकता, चुनावी संयन्त्र र परम्परागत भोटका आधारमा आफ्नो विरासत कायम राख्ने दाबी गर्छन्, धादिङका मतदाता त्यसो त युवा पुस्ता र केही समूहका बुद्धिजीवीहरू भने देशभर रास्वपाप्रति बढेको लहरले यसपटक पुराना दलहरूलाई चुनाव जित्न हम्मेहम्मे पर्ने बताउँछन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ