आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसार गर्न पाइने भएको छ ।

चुनावी प्रचार औपचारिक रूपमा सुरु भएसँगै देशभर चुनावी माहोल थप तातेको छ । निर्वाचन कार्यक्रमअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार–प्रसारका गतिविधि सञ्चालन गर्न सक्नेछन् । निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा आयोजना गर्न पाइनेछ भने सञ्चारमाध्यममार्फत आफ्ना निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न पनि अनुमति दिइएको छ । दल र उम्मेदवारहरूले तोकिएको मापदण्डभित्र रही पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन प्रकाशित तथा प्रसारण गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लंघनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको र उल्लंघनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लंघनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उमेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी वातावरणमा प्रचार–प्रसार गर्न निर्वाचन निकायले सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल