जिल्ला प्रशासन कार्यालय धादिङले पहिलो पटक जिल्लाबाट ८ जनालाई अंगिकृत नागरिकता प्रदान गरेको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर २० वर्षभन्दा बढी समयदेखि धादिङमा बसोबास गर्दै आएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय धादिङले बेनिघाटरोराङ गाउँपालिका का ३ जना र नीलकण्ठ नगरपालिका का ५ जना गरी ८ जनालाई अंगिकृत नागरिकता दिइएको हो । नीलकण्ठ नगरपालिका–३ मा बसोबास गर्दै आएका बुबा भारत निवासी अमरलाल साह र आमा जिउतीकुमारी देवीका ५ जना छोराछोरीलाई पनि अंगिकृत नागरिकता प्रदान गरिएको हो । नागरिकता प्राप्त गर्नेहरूमा ३२ वर्षीय राजेशप्रसाद साह, २७ वर्षीया रंजुकुमारी जैसवाल, २५ वर्षीया कविताकुमारी जैसवाल, २३ वर्षीया सबिता कुमारी जैसवाल र १९ वर्षीय राहुल प्रसाद साह रहेका छन् । नागरिकता प्राप्त गरेपछि राजेशप्रसाद साहले खुशी व्यक्त गर्दै भन्नुभयो, “हामीलाई अहिले मात्रै प्रजातन्त्र आएको अनुभूति भएको छ।” उहाँहरूका आमा धादिङ निवासी बासना गिरी शर्मा र बुबा भारत निवासी गोपाल शर्मा हुनुहुन्छ । त्यसैगरी बेनिघाटरोराङ गाउँपालिका–३ मा वर्षौंदेखि बसोबास गर्दै आएका ३८ वर्षीय प्रदिप पन्त, २८ वर्षीय भुवन शर्मा र ३० वर्षीया उषा पन्तले अंगिकृत नागरिकता प्राप्त गर्नुभएको छ । पन्त दाजुबहिनीले क्रमशः बिबिएस र एमएडसम्म अध्ययन गरिसक्नुभएको छ ।

प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार कानुन, विधि र प्रक्रिया पूरा गरेर अंगिकृत नागरिकता प्रदान गरिएको हो। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पनि अंगिकृत नागरिकता सम्बन्धी सबै कानुनी प्रावधान पूरा गरी नागरिकता वितरण गरिएको स्पष्ट पार्नुभयो ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल