धादिङबेसीस्थित फुटसल मैदानमा जारी दोस्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिता–२०८२ अन्तर्गत भएको रोमाञ्चक खेलमा नेपाल पत्रकार महासंघ धादिङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोश्रो नीलकण्ठ मेयर कप फूटसल प्रतियोगिता तेश्रो दिनसम्म आइपुग्दा झन् प्रतिस्पर्धात्मक बनेको छ । प्रतियोगिताको तेश्रो दिन आज प्रि–क्वाटर फाइनल र क्वाटर फाइनलका खेलहरू सम्पन्न भएका छन् । खनियाबास गाउँपालिका विरुद्ध पत्रकार महासंघ धादिङको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पत्रकार महासंघ धादिङ २–१ गोलअन्तरले विजयी हुँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । दर्शकको उल्लेख्य उपस्थिति र खेलाडीको जोशले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ ।

प्रतियोगिताअन्तर्गत आज सेमिफाइनलका खेलहरू हुनेछन् । पहिलो सेमिफाइनल खेल गंगाजमुना गाउँपालिका विरुद्ध एक्सन नेपालबीच हुने आयोजकले जनाएको छ भने दोस्रो सेमिफाइनल खेलमा नेपाल पत्रकार महासंघ धादिङ र नीलकण्ठ फोर्स आमनेसामने हुनेछन् । दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताले स्थानीय खेलकुदको विकास, युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने तथा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्वस्थ प्रतिस्पर्धा र सामुदायिक एकताको सन्देशसमेत दिएको नीलकण्ठ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रकाशदत्त भट्टले बताउनु भयो ।

प्रतियोगिताको विजेता टोलीले रु. १ लाख ११ हजार १ सय ११, उपविजेताले रु. ५५ हजार ५ सय ५५, तेस्रो हुने टोलीले रु. २२ हजार २ सय २२ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले रु. ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई जनही रु. ६ हजार ६ सय ६६ रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल