धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानिपौवास्थित मतदान केन्द्रमा लोकतन्त्रप्रतिको विश्वास र नागरिक कर्तव्यबोधको भावुक उदाहरण देखिएको छ ।

स्थानीय ६७ वर्षीय मतदाता रामबहादुर उप्रेती अक्सिजन सिलिण्डरको सहायतामा एम्बुलेन्स चढेर मतदान केन्द्र पुग्दै आफ्नो मताधिकार प्रयोग गरेका छन् । स्वास्थ्य अवस्था कमजोर रहे पनि लोकतन्त्रको पर्वमा सहभागी हुनुपर्छ भन्ने दृढ अठोटका साथ उप्रेती मतदान केन्द्र पुगेका थिए। अक्सिजन लिँदै केन्द्रमा पुगेका उनलाई देखेर उपस्थित मतदाता तथा सुरक्षाकर्मीहरू समेत भावुक बनेका थिए । स्थानीयवासीका अनुसार स्वास्थ्य अवस्था नाजुक भए पनि मतदान गर्नुपर्छ भन्ने जिम्मेवारीबोधले नै उनलाई केन्द्रसम्म ल्याएको हो ।

उक्त मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेका बेला उप्रेतीको उपस्थितिले लोकतन्त्रप्रतिको नागरिक आस्था झन् स्पष्ट पारेको छ ।उनको यो कदमले “मतदान केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो” भन्ने सन्देश दिएको छ । लोकतन्त्रलाई सुदृढ बनाउन नागरिक सहभागिता अनिवार्य हुने भन्दै रामबहादुर उप्रेतीजस्ता उदाहरणले लोकतान्त्रिक अभ्यासको महत्व झन् उजागर गरेको स्थानीयको भनाइ छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल