बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोलीले डिपोमा १४.२ केजीका ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको अवस्थामा फेला पारेको हो । अनुगमनका क्रममा उद्योगले ठूलो परिमाणमा ग्यास सिलिन्डर डिपोमा थुपारेर राखेको तर बजारमा पठाउन आनाकानी गरेको विभागले जनाएको छ ।

अनुगमन टोलीका अनुसार बजारमा ग्यासको हाहाकार छ, तर यहाँ ६ हजारभन्दा बढी सिलिन्डर थुप्रिएका छन् । यो स्पष्ट रूपमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास हो । बजारमा ग्यास नपाएर सर्वसाधारण घण्टौं लाइनमा बस्नुपर्ने अवस्था भइरहेका बेला उद्योगले ठूलो परिमाणमा ग्यास होल्ड गरेर राख्नु गैरकानुनी भएको विभागले जनाएको छ। विभागका अनुसार सहज रूपमा ग्यास आपूर्ति हुनुपर्ने अवस्थामा डिपोमा अनावश्यक रूपमा सिलिन्डर जम्मा गरेर कृत्रिम अभाव सिर्जना गरि उपभोक्तालाई मर्का परेको छ । उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २०७५ को दफा १६ बमोजिम ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ तत्काल जरिबाना गरिएको छ । त्यस्तै विभागले जरिबाना मात्र नगरी मौज्दात अवस्थामा रहेका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डरहरू नेपाल आयल निगमको समन्वयमा आजकै मितिदेखि उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

विभागले बजारमा अभाव भएको अवस्थामा अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाइएको बताउँदै कालोबजारी वा होल्डिङ गरेको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल