धादिङ अस्पताल र सल्यानटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा विस्तार तथा सहकार्य गर्ने उद्देश्यले सम्झौता गरिएको छ ।

बागमती प्रदेश अन्तर्गत रहेको धादिङ अस्पताल र त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार धादिङ अस्पतालबाट प्रत्येक महिना विशेषज्ञ (कन्सल्टेन्ट) चिकित्सकले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । उक्त सेवा सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रको आवश्यकता र धादिङ अस्पतालको उपलब्धताका आधारमा निर्धारण गरिने उल्लेख गरिएको छ ।

यस सहकार्यअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएका प्रयोगशाला परीक्षणहरू जस्तै रगत, दिसा, पिसाब तथा खकार लगायतका आवश्यक परीक्षण धादिङ अस्पतालमा गरिने व्यवस्था मिलाइनेछ । ती परीक्षणको रिपोर्ट इमेलमार्फत पठाइने र परीक्षण वापतको रकम दोस्रो पक्षले पहिलो पक्षलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा धादिङ अस्पतालका तर्फबाट अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राधिका सापकोटा तथा निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाले हस्ताक्षर गर्नुभएको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारका तर्फबाट सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर खत्री र कार्यालय प्रमुख डा. मञ्जिल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सहकार्यले सल्यानटार तथा आसपासका क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट सामान्य उपचारका लागि टाढा धादिङबेसी वा काठमाडौँसम्म जानुपर्ने बाध्यता केही हदसम्म घट्ने विश्वास गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ