कर प्रणालीमा देखिएका जटिलता, दोहोरो कर तथा सचेतनाको अभावबारे धादिङमा व्यापक छलफल गरिएको छ ।

धादिङ उद्योग वाणिज्य संघ धादिङको आयोजनामा सम्पन्न “कर न्याय सम्बन्धि छलफल” कार्यक्रममा व्यवसायी, अर्थविद् तथा सरोकारवालाहरूले वर्तमान कर प्रणालीप्रति असन्तुष्टि जनाएका छन् । छलफलमा सहभागीहरूले करदातामा पर्याप्त कर सचेतना र जानकारी अभाव रहेको औंल्याउँदै व्यापारको कर प्रणाली सुधार गर्नुपर्ने बताए। उत्पादन स्थलमै कर लगाउने व्यवस्था गर्नुपर्ने, भन्सार बिन्दुमै स्पष्ट कर प्रणाली लागू गर्नुपर्ने र कर संकलनको प्रक्रिया सहज बनाउनुपर्ने माग उठाइएको थियो ।

व्यवसायीहरूले वडा, स्थानीय, प्रदेश र संघीय तहका विभिन्न कार्यालयमा छुट्टाछुट्टै दर्ता गर्नुपर्ने झन्झटले उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको गुनासो गरेका छन् । त्यस्तै, भ्याटमा सामान खरिद गर्दा पूर्ण भ्याट बिल नआउने समस्या रहेको र थोरै रकमको मात्र बिल आउने गरेको बताएका छन् । छलफलमा अत्यधिक करका कारण उपभोक्तामा भार बढेको, उद्योग स्थापना गर्न जग्गा प्राप्त गर्न कठिन भएको तथा सरकारले उद्योगका लागि निःशुल्क वा सहुलियत जग्गा उपलब्ध गराउनुपर्ने माग समेत राखिएको थियो । “मैले तिरेको कर कहाँ गयो?” भन्ने प्रश्नसमेत सहभागीहरूले उठाएका थिए ।कर कार्यालय र कर तिर्ने प्रक्रियालाई सरल र पारदर्शी बनाउनुपर्ने, स्वास्थ्यमा नकारात्मक असर पार्ने वस्तुहरूमा उच्च कर लगाउनु उचित हुने तथा भन्सार क्लियर प्रक्रिया व्यवस्थित भए धेरै समस्या समाधान हुने धारणा राखिएको थियो । साथै, कर दर र दायरा सम्बन्धमा स्थानीय सरकार स्पष्ट नभएको भन्दै बजार अनुगमनलाई सचेतनामूलक बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

कार्यक्रममा डिल्लीराज खनाल, केपी पाण्डे र चोपलाल गिरि ले सहजिकरण गरेका थिए । उनीहरूले कार्पेट तथा भेडाको ऊन आयात, रङ्गाई, प्रशोधन र निर्यातसम्मको प्रक्रियामा पटक–पटक कर तिर्नुपरेको उदाहरण प्रस्तुत गर्दै कर संरचना सुधारको आवश्यकता औंल्याए ।
अर्थविद् डिल्लीराज खनाल ले साना व्यवसायीलाई वर्तमान कर प्रणालीले प्रोत्साहन गर्न नसकेको उल्लेख गर्दै कर न्याय सुनिश्चित गर्न प्रतिकूलता हटाउनुपर्ने बताए । त्यस्तै, त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र प्राध्यापक केपी पाण्डे ले व्यवसाय दर्ता र कर प्रणाली जटिल हुँदा उद्योग व्यवसायले दुःख पाएको बताए । उनले व्यवसाय दर्ता र कर तिर्ने प्रक्रियालाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ध्रुवबहादुर थापा, राजनीतिक अर्थ विश्लेषक सीताराम कोइराला, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, पूर्व प्रशासक बालकृष्ण नेपाली, संघका सदस्य अशोक बस्नेत, प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारी लगायत उद्योगी, व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ