चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि हालसम्म देशभर कुल ७ हजार २३१ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार यस अवधिमा ४ सय ७९ जनाको मृत्यु भएको छ भने १ हजार ८०० जना घाइते भएका छन् । प्राधिकरणका अनुसार यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म मात्र २६ वटा विपद्का घटना भएका छन् । एकै दिन ९ जिल्लाका १३ स्थानमा आगलागी हुँदा १० जना घाइते भएका छन् ।

विपद्का घटनामध्ये सबैभन्दा बढी ३ हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षाका ४४२, चट्याङका ४०६ र सर्पदशका ६०० घटना भएका छन् । यसैगरी, वन डढेलोका २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लाग्ने १२३ र हिउँपहिरोका ५ वटा घटना भएका छन्। साथै, भूकम्पका ७, असिना र डुङ्गा पल्टिने २/२ तथा असिनासहित हुरी र शीतलहरका १/१ घटना पनि घटेका छन् ।

प्राधिकरणले बढ्दो विपद्का घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन र पूर्वतयारीमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल