गत चैत १ गतेदेखि सुरु भएको ऐतिहासिक नृसिंहदेव रथयात्रा आज गोरखा सदरमुकाममा आइपुगेर भव्य रूपमा समापन भएको छ ।

आगामी २०८३ साल जेठ महिनामा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाम क्षेत्रमा आयोजना हुने ‘श्री नृसिंहधाम पुरुषोत्तम महा-महोत्सव’को प्रचारप्रसार तथा देशभरका भक्तजनलाई नृसिंहदेव भगवानको दर्शन गराउने उद्देश्यले रथयात्रा सञ्चालन गरिएको थियो । नेपालको पूर्वी सीमा मेचीदेखि पश्चिमी सीमा महाकालीसम्मको लामो यात्रा तय गर्दै भगवान नृसिंहको रथ २२ दिनपछि गोरखा आइपुगेको हो । नृसिंहधाम क्षेत्रका पीठाधीपति डा. श्री श्रीवास कृष्णदास ब्रह्मचारीको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीले सुदूरपश्चिमको चाँदनी दोधारादेखि पूर्वको केचनासम्मको यात्रा सफलतापूर्वक पूरा गरेको जनाएको छ। टोलीमा नृसिंहधाम समितिका सदस्य, मिडियाकर्मी तथा बटुकहरूको सहभागिता रहेको थियो ।

रथयात्राका क्रममा देशका विभिन्न स्थानमा पुगेर भगवानको आरती, भजन–कीर्तन तथा प्रवचनजस्ता धार्मिक कार्यक्रमहरू सञ्चालन गरिनुका साथै महा-महोत्सवसम्बन्धी प्रचार सामग्री वितरण गरिएको थियो । यो यात्रामार्फत आगामी वर्ष सल्यानटारमा हुने पुरुषोत्तम महा-महोत्सवको सन्देश देशभर प्रवाह भएको आयोजकले जनाएको छ । उक्त महोत्सवमा १०८ तीर्थयोग्यको समापन, स्नान यज्ञ तथा विशेष कथा वाचन कार्यक्रम हुनेछन्। साथै, देशभरका १०८ तीर्थस्थलबाट संकलन गरिएको पवित्र जल प्रसादीका रूपमा वितरण गरिने कार्यक्रम पनि तय गरिएको छ ।

आयोजकका अनुसार यो महा-महोत्सव नेपालको इतिहासकै सबैभन्दा ठूलो धार्मिक कार्यक्रम हुने दाबी गरिएको छ। गोरखामा सम्पन्न समापन समारोहले आगामी महोत्सवप्रति देशव्यापी रूपमा उत्साह र आकर्षण बढाएको जनाइएको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल