प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीअन्तर्गत स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आइतबारदेखि पुनः सुरु गरिएको छ ।

निर्वाचन आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगित गरेको थियो । आयोगको चैत १८ गते बसेको बैठकले नामावली सङ्कलन पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढाइएको हो । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकहरूले आफ्नो विवरणका आधारमा अनलाइन प्रणालीमार्फत सहजै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । त्यस्तै, राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकहरूले आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ। तर, फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन भने आवेदक स्वयं प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

यससँगै मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइसम्बन्धी विवरण अद्यावधिक गर्ने कार्यका लागि पनि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाताले आफ्नो नाम, थर, ठेगाना सच्याउन, एकै वडाभित्र फरक मतदानस्थल भए पायक पर्ने स्थानमा नाम सार्न तथा नागरिकताअनुसार विवरण मिलाउन सक्नेछन् ।

आयोगले सबै नागरिकलाई मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल