नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा जिल्ला अदालत धादिङले १८ महिना कैद सजाय सुनाएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलका अनुसार उक्त मुद्दा भदौ १९ गते जिल्ला अदालतमा दर्ता भएको थियो भने भदौ २० गते अदालतले आरोपित पाठकलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । जिल्ला न्यायाधीश मनकुमारी जिएम वि.क.को इजलासले ‘जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८’ को दफा ३ र ४ बमोजिम पाठकलाई दोषी ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ । साथै सार्वजनिक पदमा रहेको व्यक्तिले यस्तो कसुर गरेको भन्दै थप ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना समेत थप गरिएको अदालतले जनाएको छ ।
.jpg.webp)
कुलोपानीको विषयमा खेतमा पानी लगाउने क्रममा उत्पन्न विवादपछि वडा सदस्य पाठकले सोही स्थानका ३६ वर्षीय रामबहादुर विसुन्केलाई जातीय आधारमा अपमानजनक शब्द प्रयोग गर्दै धम्की दिएको आरोप लागेको थियो । उक्त घटनापछि पीडित विसुन्केले २०८२ भदौ १ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएका थिए । यसरी कुल १८ महिना कैद सजाय तोक्दै अदालतले दोषीबाट पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।

जिल्ला अदालतको उक्त फैसला मार्फत जातीय भेदभावविरुद्ध कडा सन्देश दिइएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल