धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाडौंको सहयोगमा तीन महिनासम्म सञ्चालन हुने व्यवसाय संवर्द्धन सेवा अभिमुखीकरण तालिम आजबाट सुरु भएको छ ।

स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै साना तथा मझौला व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो । तालिममार्फत सहभागीहरूलाई व्यवसाय सुरु गर्ने आधारभूत ज्ञान, व्यवस्थापन सीप, वित्तीय अनुशासन, उत्पादन गुणस्तर सुधार, बजारीकरण तथा प्रविधिको प्रयोगसम्बन्धी व्यवहारिक सीप प्रदान गरिने जनाइएको छ । यसका साथै, सहभागीलाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जनामा योगदान पुर्याउने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने तथा उद्यमीहरूबीच अनुभव आदान–प्रदानको वातावरण सिर्जना गर्ने लक्ष्य पनि तालिमले राखेको छ । विभिन्न क्षेत्रगत व्यवसायमा संलग्न तथा व्यवसाय सुरु गर्न इच्छुक १५ जना सहभागी रहेको उक्त तालिमको औपचारिक उद्घाटन संघका अध्यक्ष रामकुमार डल्लाकोटीले गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष डल्लाकोटीले व्यवसायिक सीप अभिवृद्धि र स्थानीय उद्यम प्रवर्द्धनका लागि यस्ता तालिम महत्वपूर्ण हुने उल्लेख गर्दै सहभागीहरूलाई सिकाइलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । वरिष्ठ उपाध्यक्ष भण्डारीले साना तथा मझौला उद्यमलाई प्रतिस्पर्धी बनाउन ज्ञान र प्रविधिको प्रयोग अपरिहार्य रहेको धारणा राख्नुभयो । महासचिव सिम्खडाले तालिमले स्थानीय उत्पादनलाई बजारसँग जोड्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो भने सल्लाहकार बस्नेतले उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जनामा टेवा पुग्ने बताउनुभयो ।

पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष शर्माले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोगले व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै डिजिटल माध्यमको उपयोग गर्न सहभागीहरूलाई सुझाव दिनुभयो ।
सहभागीहरूले तालिमबाट व्यवसाय सञ्चालन, बजारीकरण तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा व्यक्त गरेका छन् । गलैंचा उत्पादन, आरन, कृषि उद्यम, किराना पसल तथा खाद्य सामग्री उत्पादन जस्ता क्षेत्रमा रुचि राख्ने सहभागीहरूले तालिमले आफ्नो व्यवसाय सुरु तथा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

तालिम आगामी तीन महिनासम्म सञ्चालन हुने संघका प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारीले जानकारी दिनुभयो । तालिम समापनपछि सहभागीलाई प्रमाणपत्र प्रदान गरिने तथा उद्यम विकासका लागि लगानीकर्तासँग समन्वय गर्दै व्यवसायिक कार्ययोजना निर्माण र बजार व्यवस्थापनमा संघले निरन्तर सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी, उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरी, संघका महासचिव तिलक सिम्खडा, सल्लाहकार अशोक कुमार बस्नेत तथा पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्माको उपस्थिति रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल