आज वैशाख १२ गते, २०७२ सालमा आजकै दिन शनिबार बिहान ११ बजेर ५६ मिनेटमा बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ म्याग्निच्युडको विनाशकारी भूकम्पको ११ वर्ष पूरा भएको छ ।

देशको इतिहासकै सबैभन्दा ठूलो विपत्तिका रूपमा रहेको उक्त भूकम्पले पुर्याएको क्षति र पीडालाई स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् । २०७२ सालको भूकम्पले नेपाललाई गहिरो चोट दिएको थियो । उक्त विपत्तिमा परी ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ जना घाइते भएका थिए । हजारौँ परिवार विस्थापित भएका थिए र लाखौँ मानिसको दैनिक जीवन अस्तव्यस्त बनेको थियो । भूकम्पका कारण काठमाडौँ उपत्यकासहित देशका ३२ जिल्ला प्रभावित भएका थिए । हजारौँ घर पूर्णरूपमा ध्वस्त भए भने सयौँ ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू भग्नावशेषमा परिणत भए । विशेष गरी धरहरा लगायतका महत्वपूर्ण संरचनाहरू ढलेका थिए, जसले नेपाली इतिहास र पहिचानमा गहिरो असर पारेको थियो ।

विपत्तिको ११ वर्ष बितिसक्दा पनि भूकम्पको जोखिम भने अझै टरेको छैन । नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र भएकाले भविष्यमा पनि यस्ता प्राकृतिक प्रकोपको सम्भावना उच्च रहेको विज्ञहरू बताउँछन् । भवन निर्माण मापदण्ड पूर्णरूपमा लागू नहुनु, अव्यवस्थित शहरीकरण र जनचेतनाको अभाव जस्ता कारणले जोखिम अझै कायम रहेको छ ।

भूकम्पको पीडा अझै ताजै भए पनि त्यसबाट सिकेर सुरक्षित भविष्य निर्माण गर्नु आजको आवश्यकता बनेको छ । विपत्तिको स्मरणसँगै सजगता, तयारी र जिम्मेवारीको भावना विकास गर्न सके मात्र यस्ता विपत्तिबाट हुने क्षति न्यून गर्न सकिने विज्ञहरूको भनाइ छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल