९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा धादिङमा आयोजित एक विशेष समारोहका बीच अग्रज फोटोग्राफर महेन्द्र डल्लाकोटी लाई सम्मान गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार महासंघ (एनएफपीजे) धादिङ शाखाको आयोजनामा करिब ६ दशकदेखि फोटोग्राफी क्षेत्रमा निरन्तर सक्रिय ८२ वर्षीय डल्लाकोटीलाई उहाँको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो ।बेनीघाट रोराङ निवासी डल्लाकोटीले सम्मान ग्रहण गर्दै आफूले लामो समयदेखि प्रयोग गर्दै आएका ऐतिहासिक दुई थान पुराना क्यामेरा महासंघलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा उहाँले आफ्नो फोटोग्राफी यात्राका अनुभवहरू सुनाउँदै विगतका रोचक स्मरणहरू प्रस्तुत गर्दा उपस्थित पत्रकारहरू भावुक बनेका थिए । उहाँले खिचेका तस्बिरहरूले धादिङको इतिहास र विकासक्रमलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको चर्चा कार्यक्रममा गरिएको थियो ।

एनएफपीजे धादिङका अध्यक्ष मनिष दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायण बहादुर सिलवाल प्रमुख अतिथिले पुराना तस्बिरहरूलाई इतिहासको ऐना भन्दै डल्लाकोटीको योगदान नयाँ पुस्ताका फोटो पत्रकारहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, पूर्व अध्यक्षद्वय नवराज छत्कुली र राजाराम शर्मा, केन्द्रीय परिषद् सदस्य केशव अधिकारी,साथै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यक्रममा धादिङमा फोटो पत्रकारिताको चुनौती र भविष्यका विषयमा समेत छलफल गरिएको थियो।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल