धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–३ मा रहेको धादिङ अस्पतालमा आज बाट “इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR)” प्रणालीको औपचारिक शुभारम्भ गरिएको छ ।

अस्पतालमा सोमबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । विश्व स्वास्थ्य सङ्गठन (WHO)को प्राविधिक सहयोगमा अस्पतालमा उक्त प्रणाली सुरु गरिएको हो । त्यस क्रममा मन्त्री थापाले यो प्रणालीले सबै बिरामीको विवरण एक क्लिकमा हेर्न सकिनेछ । यसले सेवा प्रवाहमा समेत सहजता ल्याउनेछ । सबै स्वास्थ्य सेवा डिजिटल माध्यममा अभिलेखीकरण हुँदा सेवा प्रवाह छिटो, मितव्ययी, प्रभावकारी सुशासन कायम हुन्छ । डिजिटल प्रणाली लागू भएसँगै बिरामीहरूको सम्पूर्ण मेडिकल रेकर्ड कम्प्युटर प्रणालीमा सुरक्षित रहने र आगामी दिनहरूमा कागजी प्रक्रियाबाट हुने झन्झट न्यून हुँदै जाने अपेक्षा गरिएको छ ।

त्यस्तै, बागमती प्रदेशका स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमले अब हरेक बिरामीका हरेक रेकर्ड कम्प्युटरमा सुरक्षित हुनेछन् । देशको जुनसुकै ठाउँबाट यसलाई विद्युतीय रूपमा खोज्न वा हेर्न मिल्छ भने अधिकारप्राप्त स्वास्थ्यकर्मीले बिरामीको पुरानो इतिहास हेरी तत्काल उपचारसम्बन्धी उचित निर्णय पनि लिन सक्छन् । बागमती प्रदेशको १३ बाट सरकारी अस्पतालमध्ये धादिङ जिल्लाको धादिङ अस्पताल यो सेवा सुरु गर्ने दोस्रो अस्पताल बनेको जानकारी दिइन् ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले ईएमआर प्रणाली सुरु भएसँग बिरामीलाई विगतदेखि वर्तमानसम्मका विवरण सजिलै उपलब्ध हुनेछन् भने फाइल बोकेर हिँड्नुपर्ने बाध्यता हट्नेछ । एक सय शैयाको अस्पताल सीमित भौतिक संरचनामा सञ्चालन गर्दा समस्या भइरहेको बताउँदै संरचना विस्तार, विशेषज्ञ सेवा थप र उपकरण व्यवस्थापनको आवश्यकता रहेको जानकारी दिइन् ।

निमित्त अस्पताल निर्देशक त्रिभुवन चन्द्र झाले ईएमआर सेवा सुरु भएपछि धादिङ अस्पतालबाट उपलब्ध हुने सेवा सबै डिजिटल माध्यममा देखिने भएको छ । टिकटिङ, बिलिङ, डाक्टरको उपलब्धता, शैय्याको अवस्था, औषधीलगायत विवरण ईएमआर प्रणालीमार्फत् जानकारी लिन सकिने छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद गोविन्द लम्साल,नेपाल रेडक्रस सोसाइटीका सभापति दुर्लभ तमाङ,नेपाल पत्रकार महासंघ धादिङ शाखाका सभापति सिताराम अधिकारी, स्वास्थ्य क्षेत्रका सरोकारवाला, चिकित्सक, कर्मचारी तथा स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल