प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लामा उम्मेदवार बनेर न्यून मत प्राप्त गर्ने धेरै उम्मेदवारहरूको निर्वाचन खर्च भने अपेक्षाभन्दा उच्च देखिएपछि उनीहरूले खर्च गरेको रकम केमा प्रयोग भयो भन्ने प्रश्न उठ्न थालेको छ ।

जिल्लामा कुल ४७ जना उम्मेदवारमध्ये २५ जनाले एक सयभन्दा कम मत ल्याएका छन् । यस्तै न्यून मत ल्याउने केही उम्मेदवारहरूले लाखौँ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । धादिङ क्षेत्र नम्बर १ का राजेश भट्टराईले मात्र ३८ मत प्राप्त गरे पनि ३ लाख ४३ हजार ९८९ रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ। सोही क्षेत्रका तपन उप्रेतीले २३ मत ल्याएर १ लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गर्नुभएको छ ।
धादिङ क्षेत्र नम्बर २ का नोरमान तामाङले १८ मतका लागि १ लाख ३३ हजार २०० रुपैयाँ खर्च गरेको देखिन्छ । त्यसैगरी, ९ हजार ३६ मत ल्याउनुभएका रामबहादुर भण्डारीले ८ लाख ५६ हजार ३५० रुपैयाँ खर्च गर्नुभएको छ भने ८८६ मत ल्याउनुभएका अमिर तामाङले ५ लाख ९९ हजार रुपैयाँ खर्च गर्नुभएको विवरण छ । २६९ मत ल्याउनुभएका टासी लामा तामाङले ३ लाख ६८ हजार ५०० रुपैयाँ र ११६ मत ल्याउनुभएका देवेन्द्र गैरेले ३ लाख २२ हजार रुपैयाँ खर्च गरेको उल्लेख गर्नुभएको छ ।

धादिङ–२ का रुद्रबहादुर गेलालले भने सबै वडामा पुगेर प्रचारप्रसार गरे पनि १० हजार रुपैयाँ मात्रै खर्च भएको उल्लेख गर्नुभएको छ, जसमा उहाँले २७ मत प्राप्त गर्नुभएको थियो । धादिङ–१ का डम्बरबहादुर लिम्बुले १ लाख ५५ हजार रुपैयाँ खर्च गरी ६० मत ल्याउनुभएको छ भने कृष्णबहादुर तामाङले १ लाख ५७ हजार ८६ रुपैयाँ खर्च गरेर ११६ मत प्राप्त गर्नुभएको छ ।
उच्च मत ल्याउने उम्मेदवारहरूको खर्च विवरण पनि सार्वजनिक भएको छ । १५ हजार ३२ मत ल्याउनुभएका भूमि त्रिपाठीले २१ लाख ९७ हजार रुपैयाँ खर्च गर्नुभएको छ। १० हजार ८० मत ल्याउनुभएका कृष्ण रिजालले सबैभन्दा बढी २९ लाख १३ हजार ४०० रुपैयाँ खर्च गर्नुभएको छ । सबैभन्दा बढी ३९ हजार १२८ मत ल्याउनुभएकी आशिका तामाङले १६ लाख २९ हजार ४९५ रुपैयाँ खर्च गर्नुभएको छ भने १४ हजार ७०९ मत ल्याउनुभएका राजेन्द्रप्रसाद पाण्डेले १७ लाख ४० हजार ८०८ रुपैयाँ खर्च गर्नुभएको विवरण सार्वजनिक गर्नुभएको छ ।

कानुनी प्रावधानअनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। धादिङ–१ मा ८० हजार ८४१ सदर मतमध्ये ८ हजार ८४ भन्दा कम मत ल्याउने १९ जनाको धरौटी जफत भएको छ । आशिका तामाङ, भूमि त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र कृष्ण रिजाल भने यो व्यवस्थाबाट जोगिएका छन् । धादिङ–२ मा ६९ हजार ७५१ सदर मतमध्ये ६ हजार ९७५ भन्दा कम मत ल्याउने २० जनाको धरौटी जफत भएको छ। बोधनारायण श्रेष्ठ, रमेश धमला, धनबहादुर घले र रामबहादुर भण्डारीको भने धरौटी जफत भएको छैन ।
निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण सार्वजनिक गरी जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहे पनि अझै दुई जना उम्मेदवारले खर्च विवरण पेश नगरेको जनाइएको छ ।

यसरी न्यून मत प्राप्त गर्ने उम्मेदवारहरूको उच्च खर्च विवरणले निर्वाचन प्रणालीको पारदर्शिता र खर्चको औचित्यमाथि प्रश्न खडा गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल