त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको प्राचीन धार्मिकस्थल *नृसिंहधाम*मा पुरुषोत्तम महामहोत्सव सुरु हुने भएको छ ।

सल्यानटारस्थित बुढीगण्डकी र नेत्रवती नदीको संगमस्थलमा रहेको प्रसिद्ध धार्मिकस्थल *नृसिंहधाम*मा प्रत्येक तीन वर्षमा आयोजना हुने बहुप्रतीक्षित पुरुषोत्तम महामहोत्सवको तयारी तीव्र रूपमा अघि बढाइएको छ । यस वर्षको मेला २०८३ साल जेठ १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ ।
धादिङबेसीबाट सयानटारको बसको यात्रा करिब एक घण्टा ४५ मिनेको हो । धादिङबेसीबाट आरुघाट जाने बसले सल्यानटारको पानी ट्याङ्की भन्ने ठाउँसम्म पुर्याउँछ । त्यसपछि म्याजिक भ्यानबाट करिब २० मिनेट नरसिंह धाम परिसर पुग्न सकिन्छ ।
गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला भन्ने बुझाउँछ । यस धामको २०६६ फागुनदेखि खोज अनुसन्धान सुरु भयो । २०६७ सालमा आँपको फेदमा बसेर पुराण लगाएर उठेको पैसाले मन्दिरको संरचना निर्माण थालियो । मन्दिर बनाउने स्थान खार्ने क्रममा लिच्छबीकालीन सिक्का पैसा, इँट्टाका मूर्तिलगायत भग्नावषेश फेला पर्यो । त्यसपछि हरेक वर्ष पुराण लगाउन थालियो । २०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि उत्खनन् गर्दा प्राचीन ढुङ्गा, इँटा र सिक्काहरू भेटिएको थियो । विसं २०७६ देखि रु २१ करोडको लागतमा नयाँ मन्दिरको सुरुवात गरिएको छ । मन्दिर निर्माणका लागि विभिन्न पालिकाहरुको लगानी रहेको छ भक्तजनबाट सङ्कलन भएको रकमबाट मन्दिरका अतिरिक्त गुरूकुल भवन, आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचना निर्माण भइरहेको छ । हाल धाम क्षेत्रमा गुरूकुल भवन, प्रसादी गृह, अतिथि आवास, गौशाला लगायतका पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । करिब २१ करोड रुपैयाँ लागतमा २०७६ सालदेखि नयाँ मन्दिर निर्माण कार्य जारी रहेको छ। विभिन्न स्थानीय तहको लगानी र भक्तजनको सहयोगमा धामलाई विशिष्ट धार्मिक गन्तव्यका रूपमा विकास गर्ने अभियान अगाडि बढाइएको नृसिंहधाममा पुरुषोत्तम महामहोत्सवको मूल आयोजक समिति संयोजक फणिकान्त छत्कुलीले जानकारी दिनुभयो ।

महोत्सवको पूर्वतयारीस्वरूप २३ दिने मेची–महाकाली रथयात्रा सफलतापूर्वक सम्पन्न भइसकेको छ । यसैबीच, बैशाख २६ र २७ गते नेपाल, भारत, अस्ट्रेलिया र अमेरिकाबाट आउने वैज्ञानिक तथा साधु–सन्तहरूको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी पनि गरिएको छ । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको नृसिंहधाममा पुरुषोत्तम महिनामा चामलमाथि दियो बालेर गरिने संकल्प तथा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । यही विश्वासका कारण हरेक तीन वर्षमा यहाँ लाखौँ भक्तजनको उपस्थिति रहने गर्दछ । महिना भरि लाखौँ भक्तजनका लागि निःशुल्क भोजन प्रसादी वितरण तथा आगन्तुक पाहुनाका लागि आवास व्यवस्थापन समेत गरिएको छ । महोत्सव अवधिभर भक्तजनहरूले हवनकर्म, पुरुषोत्तम स्नान, कथा श्रवण तथा धार्मिक प्रवचनजस्ता कार्यक्रम सञ्चालन हुनेछन् । भक्तजनहरूले आफ्ना गोत्रअनुसारका कुण्डमा पितृ, सन्तति तथा व्यक्तिगत कल्याणका लागि हवन गर्न सक्ने व्यवस्था मिलाइएको प्रबक्ता कुस बहादुर सिटौलाले बताए ।
धामका पीठाधीश्वर डा. श्रीवास कृष्ण दास ब्रह्मचारीको सत्संकल्पमा विगत तीन वर्षदेखि देश तथा विदेशका प्रमुख धार्मिक तीर्थस्थलहरू—कैलाश मानसरोवर, दामोदरकुण्ड, बद्रीनाथ, केदारनाथ, गंगासागर, जगन्नाथपुरी, द्वारका र कन्याकुमारी लगायत चारधाम, सप्तपुरी तथा द्वादश ज्योतिर्लिङ्गसमेत समेटिएको १०८ तीर्थ क्षेत्रमा सञ्चालन हुँदै आएको यज्ञको पूर्णाहुति पनि यही महोत्सवमा गरिने कार्यक्रम रहेको छ। साथै, सोही अवसरमा १०८ तीर्थ यज्ञको जलप्रसादी वितरण गरिनेछ । महोत्सवमा देश–विदेशबाट आएका विभिन्न साधु–सन्तहरूको प्रवचन रहने छ साथै महोत्सवमा एक लाख लक्ष्मी–नृसिंह यन्त्र निःशुल्क वितरण गरिने कार्यक्रम पनि रहेको छ ।

ऐतिहासिक महोत्सवले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल