देशभरका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले आइतबार रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाबाट सुकुम्वासीहरूको सहभागिता रहेको थियो । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन तथा र्याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले सरकारले दीर्घकालीन व्यवस्थापनको स्पष्ट योजना नबनाई विभिन्न स्थानमा बस्ती हटाउने नाममा डोजर चलाएको भन्दै विरोध जनाएका हुन् ।

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेल ले सरकारको कदमका कारण देशभरका करिब १२ लाखभन्दा बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएको दाबी गरे । उनले विकल्पविना सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घरटहरा भत्काउने, लखेट्ने तथा विस्थापित बनाउने कार्य बन्द गर्न सरकारसँग माग गरे ।

प्रदर्शनका क्रममा सहभागीहरूले सुरक्षित आवास, भूमिको अधिकार तथा दीर्घकालीन व्यवस्थापनको सुनिश्चितता गर्न सरकारलाई दबाब दिएका थिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल