नेपाल चलचित्र कलाकार संघको २१औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अभिनेता उत्तम केसी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष केसीले अधिवेशनलाई सफल, मर्यादित र ऐतिहासिक रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण चलचित्रकर्मी, पूर्व पदाधिकारी, सदस्य, पत्रकार, सुरक्षा निकाय तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले कलाकारहरूको एकता, सम्मान, अधिकार तथा सशक्त भविष्य निर्माणका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । अध्यक्ष केसीले कलाकारको हकहित, संस्थागत सुदृढीकरण, श्रमको सम्मान, सामाजिक सुरक्षा तथा नेपाली चलचित्र क्षेत्रको समग्र उन्नयनका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अधिवेशनमा प्राप्त समर्थन र मतलाई व्यक्तिगत विजय नभई सम्पूर्ण कलाकार समुदायको साझा विजय भएको उल्लेख गर्नुभयो ।

अधिवेशनमा निवर्तमान अध्यक्ष मोहन निरौला, संरक्षक बसुन्धरा भुसाल, संस्थापक अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्वाचन समिति संयोजक कृष्ण ढुङ्गाना, नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल लगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यसैगरी संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा पूजना प्रधान र शिवहरी बैरागी, महासचिवमा सुनील कटवाल, सचिवमा गोपाल ढकाल, कोषाध्यक्षमा तेजुला खतिवडा तथा सहकोषाध्यक्षमा पवन केसी निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई तथा सुलेमान इकु निर्वाचित हुनुभएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल