धादिङ प्रहरीले अवैध रूपमा ओसारपसार गरिँदै गरेको सिसौ जातको काठसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार असोज २५ गते साँझ करिब ५ बजे त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेबाट धादिङबेँसीतर्फ आउँदै गरेको मिनी ट्रकमा अवैध सिसौ जातको गोलिया काठ ल्याइँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि नीलकण्ठ नगरपालिका–३ पुछारबजारस्थित सडकमा सवारी साधन चेकजाँच गर्ने क्रममा बा ५ ख ६१९३ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा पछाडिको भागमा लुकाइछिपाई राखिएको सिसौ जातको गोलिया काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद काठ नापतौल गर्दा १०४.३७ क्यूबिक फिट रहेको पाइएको छ । उक्त काठ आवश्यक कागजातबिना ओसारपसार गरिएको देखिएकाले मिनी ट्रकसहित काठ नियन्त्रणमा लिइएको हो । घटनामा संलग्न नीलकण्ठ नगरपालिका–९ निवासी ४२ वर्षीय चालक नवराज श्रेष्ठ र नीलकण्ठ नगरपालिका–६ स्थायी घर भई हाल नीलकण्ठ–३ बस्ने ६५ वर्षीय गणेशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद काठ, मिनी ट्रक तथा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङबेँसीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल