गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमालाई थप सहभागितामूलक, समावेशी र जनमुखी बनाउने उद्देश्यले आयोजना गरेको राय, सल्लाह तथा सुझाव संकलन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

गाउँपालिकाको सभाहल, बैरेनीमा सम्पन्न कार्यक्रममा स्थानीय तहमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघ–संस्था, सहकारी, बुद्धिजीवी, समाजसेवी, ज्येष्ठ नागरिक सञ्जाल, आमा तथा महिला समूह, गल्छी बाल समुह सञ्जाल, युवा क्लब, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको समग्र विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, पर्यटन प्रवर्द्धन, युवा तथा खेलकुद, महिला तथा बालबालिका, रोजगार सिर्जना, सामाजिक सुरक्षा तथा वातावरण संरक्षण लगायतका विषयमा आफ्ना महत्वपूर्ण सुझाव तथा धारणा प्रस्तुत गरेका थिए । सहभागीहरूले स्थानीय आवश्यकता, बालमैत्री र जनचाहना अनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्राप्त सुझावहरूलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रम सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले गरेका थिए भने कार्यक्रमको समापनसँगै सहभागीहरूले आगामी बजेट तथा कार्यक्रम जनमैत्री र विकासमुखी हुने विश्वास व्यक्त गरेका थिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल