नीलकण्ठ नगरपालिकाको १ अर्ब २४ करोडको बजेट सार्वजनिक, कृषि–शिक्षा–स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

बिहीबार, आषाढ ४, २०८३

theme

नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब २४ करोड ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

 

बिहीबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा नगर उपप्रमुख दीपक विश्वकर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ ३६ करोड ७३ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट चालु आर्थिक वर्ष २०८२/८३ को बजेटभन्दा १ करोड ७ लाख ८३ हजार रुपैयाँ बढी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको असार ३ गतेसम्म कुल १ अर्ब २६ करोड २९ लाख ४२ हजार ६ सय ६३ रुपैयाँ बजेटमध्ये ७० करोड १८ लाख ५३ हजार ६१ रुपैयाँ खर्च भएको छ। जुन कुल बजेटको ५५ दशमलव ५७ प्रतिशत हो ।

 

 

आन्तरिक आयतर्फ ६ करोड ६० लाख रुपैयाँ लक्ष्य राखिएकोमा ३ करोड ३७ लाख २६ हजार रुपैयाँ आम्दानी भएको छ भने राजस्वतर्फ १३ करोड ४ लाख ६४ हजार ४ सय १९ रुपैयाँ अनुमान गरिएकोमा ११ करोड २६ लाख २० हजार रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, युवा, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि बिउ वितरण, बाली संरक्षण, किसानसँग चौतारी, उत्कृष्ट उद्योग तथा बाली प्रवर्द्धनलगायत कार्यक्रम सञ्चालन गरिने भएको छ । शिक्षातर्फ कक्षा १२ सम्मको अनिवार्य निःशुल्क शिक्षालाई निरन्तरता दिन ८ करोड २२ लाख रुपैयाँ छुट्याइएको छ भने स्वास्थ्य क्षेत्रमा नगर स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थाको स्तरोन्नति र उपकरण मर्मत–सम्भारका कार्यक्रम समेटिएका छन् । युवा तथा खेलकुदका लागि ५४ लाख ५० हजार रुपैयाँ, सीप तथा उद्यमशीलता विकासका लागि ९ लाख ५५ हजार रुपैयाँ, रोजगारी सिर्जनाका लागि २५ लाख रुपैयाँ र वैदेशिक रोजगारीसम्बन्धी कार्यक्रमका लागि १७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

 

पूर्वाधार विकासतर्फ सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुर्‍याउने लक्ष्यसहित सडक योजनाका लागि १३ करोड २३ लाख रुपैयाँ बजेट राखिएको छ। नगरका १४ वटै वडामा सडक स्तरोन्नति तथा कालोपत्रे कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । त्यस्तै खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि, न्यायिक समिति, विपद् व्यवस्थापनलगायत क्षेत्रमा समेत बजेट व्यवस्था गरिएको छ ।

 

 

नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुशासन, सेवा प्रवाह, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले डिजिटल तथ्यांक प्रणाली स्थापना, “एक वडा–एक उत्पादन” कार्यक्रमलाई परिष्कृत गर्दै “एक वडा–एक पहिचान” अवधारणा कार्यान्वयन, स्थानीय उत्पादनको ब्रान्डिङ, प्राविधिक शिक्षा, खेलमैत्री नगर अभियान तथा नगर गौरवका आयोजनालाई प्राथमिकता दिइने जानकारी दिनुभयो ।

 

 

नगरसभाले नीति तथा कार्यक्रम र आर्थिक विधेयक–२०८३ सर्वसम्मत रूपमा पारित गरेको छ भने बजेट आगामी बैठकबाट छलफलपछि पारित गरिने नगरपालिकाले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल