नेत्रावती डबजोङ गाउँपालिकाको ४० करोड ५० लाख ६६ हजारको बजेट सार्वजनिक

बिहीबार, आषाढ ४, २०८३

theme

धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ५० लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

 

गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष सितामाया चोदेनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको जनाएको छ । गाउँपालिकालाई क्रमशः सडक सञ्जाल, कृषि उत्पादन, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवामा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । नीति तथा कार्यक्रममा मुख्य सडकलाई कालोपत्रे गर्ने, थर्पु–सेमजोङ–मार्पाक सडकलाई प्राथमिकता दिने, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने तथा योजनाको गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने उल्लेख गरिएको छ ।  विकास निर्माणलाई दिगो बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक वातावरणीय परीक्षण अनिवार्य गर्ने नीति समेत लिइएको छ ।

 

 

कृषि तथा पशुपालन क्षेत्रमा एक घर एक पक्की टनेल कार्यक्रमलाई निरन्तरता दिँदै तरकारी पकेट विकास कार्यक्रम सञ्चालन गर्ने, किसान सूचीकरणलाई प्रभावकारी बनाउने तथा तरकारी, फलफूल, दुग्धजन्य र मासुजन्य उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ। पशु रोग नियन्त्रण, कृत्रिम गर्भाधान सेवा र कृषि प्राविधिक पहुँच विस्तारलाई पनि प्राथमिकता दिइएको छ । शिक्षातर्फ स्थानीय पाठ्यक्रम निर्माण, विद्यालय मर्ज प्रक्रिया, विद्यार्थी तथा शिक्षक सम्मान, प्राविधिक शिक्षा छात्रवृत्ति र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई दुई लाख रुपैयाँसम्म सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।

 

 

स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर, टेलिमेडिसिन सेवा, घरमै स्वास्थ्य सेवा, स्वास्थ्य बीमा विस्तार, नवजात शिशुको निःशुल्क उपचार तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।गाउँपालिकाले विपद् व्यवस्थापन, पर्यटन प्रवर्द्धन, सहकारी सुदृढीकरण, महिला तथा दलित सशक्तीकरण, रोजगारी सिर्जना, डिजिटल सुशासन र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जनाएको छ ।

 

 

गाउँपालिकाका अनुसार बजेटको मुख्य स्रोत संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, सशर्त तथा विशेष अनुदान र आन्तरिक आय रहेको छ। कुल बजेटमा गाउँपालिकाको आन्तरिक आम्दानी करिब ६२ लाख रुपैयाँ अनुमान गरिएको छ । गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संघ, प्रदेश, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा स्थानीय समुदायसँग सहकार्य गर्ने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल