धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड २५ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले शुक्रबार सम्पन्न १९औँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष राजु उप्रेतीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष देवराज धरेलले बजेट विवरण प्रस्तुत गर्नुभएको थियो । आगामी आर्थिक वर्षको क्षेत्रगत बजेटअन्तर्गत आर्थिक विकासतर्फ ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसअन्तर्गत कृषि विकासतर्फ १५ लाख, पशु विकासतर्फ १० लाख, सहकारी प्रवर्द्धनतर्फ ३ लाख, पर्यटन प्रवर्द्धनतर्फ १५ लाख र श्रम तथा रोजगारी सिर्जनातर्फ ५ लाख रुपैयाँ छुट्याइएको छ । सामाजिक विकासतर्फ कुल ४ करोड ९० लाख रुपैयाँ प्रस्ताव गरिएको छ। जसमा शिक्षातर्फ ३ करोड, स्वास्थ्यतर्फ १ करोड ५० लाख,महिला,बालबालिका तथा लक्षित समूहका लागि २० लाख, युवा, खेलकुद तथा नवप्रवर्तनतर्फ १० लाख र जीविकोपार्जन तथा उत्थानशीलता विकासतर्फ १० लाख रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ १३ करोड ४४ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। जसअन्तर्गत समपूरक अनुदान साझेदारीतर्फ ३ करोड ३० लाख, दायित्व स्थानान्तरणतर्फ ३ करोड, पालिकास्तरीय योजनातर्फ १ करोड ३७ लाख र सार्वजनिक निजी साझेदारीतर्फ ३५ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै वडा स्तरीय बजेट सिलिङका लागि २ करोड ४५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ। सातवटै वडाका लागि समान रूपमा प्रति वडा ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४८ लाख रुपैयाँ प्रस्ताव गरिएको छ। जसमा विपद् व्यवस्थापनतर्फ ३५ लाख, जैविक विविधता संरक्षणतर्फ ३ लाख र फोहोरमैला व्यवस्थापनतर्फ १० लाख रुपैयाँ रहेको छ । सुशासन, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ९ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा सेवा प्रवाहका लागि ९ करोड २० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ६० लाख र न्यायिक समितिका लागि ८ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित ६८ करोड ४९ हजार रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म ३७ करोड ६३ लाख ९० हजार रुपैयाँ खर्च भएको गाउँपालिका उपाध्यक्ष देवराज धरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालुतर्फ विनियोजित ४३ करोड २१ लाख ६२ हजारमध्ये २९ करोड ५६ लाख ८२ हजार र पुँजीगततर्फ विनियोजित २४ करोड ७८ लाख ८७ हजारमध्ये ८ करोड ७ लाख ८ हजार रुपैयाँ खर्च भएको छ ।

गाउँसभामा आर्थिक विधेयक, २०८३ (संशोधनसहित) तथा बजेट कार्यान्वयनका लागि तयार गरिएको विनियोजन विधेयक, २०८३ समेत प्रस्तुत गरिएको थियो। बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ भने बजेटमाथि थप छलफल तथा पारित गर्न असार ३० गते अर्को बैठक बस्ने गाउँपालिकाले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल