नेपाल प्रहरी प्रधान कार्यालयको मासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ जेठ महिनामा पनि उत्कृष्ट हुँदै प्रथम भएको छ ।

प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काको नेतृत्वमा रहेका देशभरका १५ वटा पहाडी जिल्लाका प्रहरी कार्यालयमध्ये जेठ महिनाको मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङले उत्कृष्ट स्थान हासिल गरेको हो । धादिङ प्रहरी यसअघि पनि कार्यसम्पादन मूल्याङ्कनमा प्रथम हुँदै आएको थियो । प्रशासनिक सुधार, कार्यालय अभिलेख व्यवस्थापन, अपराध न्यूनीकरण, आपराधिक घटनाका पुराना पेन्डिङ मुद्दाको प्रभावकारी अनुसन्धान तथा फैसला कार्यान्वयनमा देखाएको सक्रियताका आधारमा धादिङ प्रहरी उत्कृष्ट बनेको हो । त्यस्तै, राजमार्गको संवेदनशीलतालाई मध्यनजर गर्दै सडक तथा सवारी सुरक्षा, प्रहरी परिचालन, उजुरी तथा गुनासो व्यवस्थापन र विपद् व्यवस्थापनमा देखाएको सक्रियताले पनि धादिङ प्रहरीको कार्यसम्पादन प्रभावकारी देखिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकसँगको समन्वय बढाउँदै सामाजिक विकृति र विसंगतिविरुद्ध सञ्चालन गरेका अभियानहरूले समेत स्थानीय स्तरमा सकारात्मक प्रभाव पारेको बताइएको छ । प्रहरी संगठनभित्र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दै नागरिकलाई प्रदान गरिने सेवा, शान्ति सुरक्षा र प्रहरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यस्तो मूल्याङ्कन प्रणालीले महत्वपूर्ण भूमिका खेलेको प्रहरीको भनाइ छ ।

जेठ महिनाको मूल्याङ्कनमा पुनः प्रथम स्थान हासिल गरेसँगै धादिङ प्रहरीले आगामी दिनमा नागरिक सुरक्षा र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल