गङ्गाजमुना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६० करोड ५३ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनबाट नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट पारित गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिमखडाले गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा गाउँपालिकाको आन्तरिक आयबाट ९९ लाख रुपैयाँ, सञ्चित कोषबाट ३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ ९ करोड १३ लाख २८ हजार, वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ९६ लाख, सशर्त अनुदानतर्फ २३ करोड २३ लाख, समपूरक अनुदानतर्फ १ करोड ९५ लाख र विशेष अनुदानतर्फ १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै बागमती प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ ३ करोड २० लाख ९७ हजार ६ सय ७० रुपैयाँ, वित्तीय समानीकरणतर्फ १ करोड ११ लाख २ हजार, सशर्त अनुदानतर्फ १ करोड ३४ लाख ९९ हजार, समपूरक अनुदानतर्फ २ करोड ४० लाख र विशेष अनुदानतर्फ ७० लाख रुपैयाँ बजेट प्राप्त भएको जनाइएको छ ।

संघीय सरकारबाट ४७ करोड २७ लाख २८ हजार र प्रदेश सरकारबाट ८ करोड ७६ लाख २८ हजार ६ सय ७० रुपैयाँ गरी कुल ५६ करोड ३ लाख ५६ हजार ६ सय ७० रुपैयाँ अनुदान प्राप्त भएको उपाध्यक्ष सिमखडाले जानकारी दिनुभयो । बजेटमा सबै वडाका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने सडक, खानेपानीलगायत सार्वजनिक संरचना निर्माणका लागि १४ करोड ४६ लाख रुपैयाँ छुट्याइएको छ ।

गाउँपालिकाले १० वर्षे गाउँ शिक्षा योजना कार्यान्वयनका लागि सशर्त अनुदान बाहेक थप २ करोड १८ लाख, युवा तथा खेलकुद विकासका लागि १७ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४० लाख, कृषि क्षेत्रतर्फ ५० लाख, पशु क्षेत्रतर्फ ४० लाख र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ २० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै ४० वर्ष पुगेका एकल महिलाको संरक्षण कार्यक्रमका लागि ६ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

पार्टीभन्दा माथि उठेर नागरिकको सेवा र विकासमा केन्द्रित हुनुपर्ने बताउँदै कर्मचारीको सहयोग र सहकार्यबाट गङ्गाजमुना गाउँपालिकालाई विकास र समृद्धितर्फ अघि बढाउन सकिने र सुशासन, ग्रामीण स्वास्थ्य सेवा, भौतिक पूर्वाधार विकास, कृषि प्रवर्द्धन, गुणस्तरीय शिक्षा, वातावरणमैत्री विकास, पर्यटन तथा होमस्टे, विपद् व्यवस्थापन, क्षमता विकास, गरिबी न्यूनीकरण र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल