धादिङको नीलकण्ठ नगरपालिका–८ मा रहेको आँकुरा कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेडले कृषकका उत्पादनको सहज संकलन तथा बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।

सहकारीले कृषि तथा पशुजन्य उत्पादन संकलन र बिक्री–वितरणलाई प्रभावकारी बनाउन कृषि एम्बुलेन्स सेवा सुरु गरेको जनाएको छ । सहकारीका अध्यक्ष शम्भु श्रेष्ठका अनुसार कृषकले उत्पादन गरेका तरकारी, फलफूल, दूध, माछा, मासुलगायत वस्तुलाई बजारसम्म सहज रूपमा पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । अध्यक्ष श्रेष्ठले कृषि एम्बुलेन्स खरिदमा कुल ३२ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । उनका अनुसार ९ लाख रुपैयाँ एक्सन नेपाल र हेफर इन्टरनेशनलको सहयोग रहेको छ भने बाँकी करिब २३ लाख रुपैयाँ सहकारीले व्यहोरेको हो । एम्बुलेन्ससँगै सहकारीले एक वटा स्कुटरसमेत खरिद गरेको छ ।

नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाशकुमार श्रेष्ठले कृषि एम्बुलेन्सको सञ्चालनले जिल्लाको कृषि तथा पशुपालन क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले किसानले उत्पादन गरेका वस्तुले उचित बजार नपाउँदा समस्या भोग्दै आएको उल्लेख गर्दै अब उत्पादनको सहज संकलन, ढुवानी र बिक्री–वितरणबाट किसानले उचित मूल्य पाउने वातावरण बन्ने बताए । सहकारीले हाल धादिङभरका कृषिजन्य तथा पशुजन्य उत्पादन संकलन गरी बिक्री–वितरण गर्दै आएको छ । साथै नेपालका प्रमुख सहरहरूका साथै कतारसम्म पनि कृषिजन्य उत्पादन निर्यात भइरहेको जनाएको छ ।

सहकारीले निकट भविष्यमा चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालन गर्ने योजना समेत अघि बढाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। कृषि एम्बुलेन्स सञ्चालनसँगै जिल्लाका किसानको उत्पादन बजारसम्म पुर्याउन थप सहज हुने अपेक्षा गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल