धादिङको गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड ६३ लाख ३ हजार ८ सय ६१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष शर्मिला बिसुरालले आगामी आर्थिक वर्षको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको हो। गाउँसभा तथा अधिवेशन गाउँपालिकाका अध्यक्ष एवं सभाध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार सिर्जना, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो। सार्वजनिक गरिएको बजेटले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, आर्थिक तथा सामाजिक विकासलाई गति दिने र नागरिकको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफल गरिएको थियो। जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागितामा भएको छलफलपछि नीति, कार्यक्रम र बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ । यसै अवसरमा गाउँपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान समेत गरिएको छ। सर्वोत्कृष्ट कर्मचारी पुरस्कार शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्तोष पौडेललाई प्रदान गरिएको छ भने उत्कृष्ट कर्मचारी पुरस्कार योजना शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटर रविना श्रेष्ठलाई प्रदान गरिएको छ ।

गाउँपालिकाले कर्मचारीहरूको कार्यसम्पादन, जिम्मेवारी निर्वाह तथा संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ। सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि सेवामुखी र प्रभावकारी कार्यसम्पादनको अपेक्षा गरिएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेटले पूर्वाधार निर्माण, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, रोजगारी प्रवर्द्धन र सुशासनमार्फत समग्र स्थानीय विकासलाई थप गति दिने विश्वास व्यक्त गरेको छ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल