धादिङ प्रहरीले लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकमाथि निगरानीलाई निरन्तरता दिँदै थप ७ जना चालकलाई पक्राउ गरेको छ । हालसम्म लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा ३० जना चालक पक्राउ परिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मिति २०८३ असार १५ गते बिहानदेखि दिउँसोसम्म गल्छी गाउँपालिका–६ बन्छेस्थित पृथ्वी राजमार्ग र नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित सडक क्षेत्रमा सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण गरिएको थियो । प्रहरीले सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूलाई लक्षित गरी गरेको परीक्षणका क्रममा ७ जना चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाएको पुष्टि भएपछि उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा म. प्र. ०३-००२ ख २५८६ नं. को ट्रेलर चालक जिल्ला धादिङ गल्छी गा.पा. ६ बस्ने वर्ष ३२ को दिपेन्द्र श्रेष्ठ,ना ३ ख १४७८ नं. को ट्र्याक्टर चालक जिल्ला बारा जितपुर सिमरा उ. म. न. पा. २४ बस्ने वर्ष २४ को ख्वालाम हवारी,बा. प्र. ०२-०२३ प ४५२६ नं. को मो. सा. चालक जिल्ला धादिङ ज्वालामुखी गा. पा. ५ बस्ने वर्ष २० को दिवस आले मगर,बा. प्र. ०३-००१ ज १२५१ नं. को हाईस चालक जिल्ला नवलपरासी गैँडाकोट न. पा. १७ बस्ने वर्ष २१ को भुमिराज महतो,बा. प्र. ०२-०६२ प १३६४ नं. को मो. सा. चालक जिल्ला लमजुङ मर्स्याङ्दी गा. पा. १ बस्ने वर्ष २६ को प्रविन भण्डारी,बा ४१ प ८७४१ नं. को मो. सा. चालक जिल्ला धादिङ सिद्धलेक गा. पा. १ बस्ने वर्ष २३ को सञ्जय सिलवाल,ना ७ ख ३७३० नं. बस चालक जिल्ला धादिङ सिद्धलेक गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३४ को टोप बहादुर थापा उनीहरू विभिन्न स्थानका रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सवारी चालकहरूलाई लागुऔषध तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा शंकास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय धादिङमा जानकारी गराउन आग्रह गरेको छ ।

सवारी चालकको लापरबाहीका कारण हुने दुर्घटना न्यूनीकरणका लागि यस्ता अभियानलाई निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल