किचन अत्याधिक फोहोर भएका राजमार्गका ५ होटल जरिवानामा परे

बिहीबार, आषाढ १८, २०८३

theme

उपभोक्ताको हकहित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला बजार अनुगमन समिति धादिङले बिहीबार जिल्लाको राजमार्ग क्षेत्रका विभिन्न होटल, खाजा घर तथा डेरी उद्योगमा अनुगमन गरेको छ ।

 

 

जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरी, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्कालगायतको संयुक्त टोलीले बजार अनुगमनका क्रममा विभिन्न पाँच व्यवसायबाट कुल १ लाख १० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

 

 

अनुगमनका क्रममा होटलहरूमा बासी खाना बिक्रीका लागि राखिएको, खानामा किरा परेको, खाना पकाउने तथा तयारी गर्ने स्थान अत्यन्त फोहोर अवस्थामा रहेको प्रयोगका लागि राखिएका तरकारी कुहिएको अवस्थामा फेला परेको, म्याद नाघेका खाद्यान्न सामग्री प्रयोगमा राखिएको तथा फ्रिजभित्र कुहिएका सामग्री र विभिन्न खानेकुरा अस्वस्थकर तरिकाले भण्डारण गरिएको पाइएको थियो । अनुगमनका क्रममा केही होटल तथा डेरी उद्योगले सरसफाइसम्बन्धी न्यूनतम मापदण्ड पूरा नगरेको तथा यसअघि पटक–पटक दिइएको निर्देशनसमेत पालना नगरेको पाइएपछि कारबाही गरिएको अनुगमन समितिले जनाएको छ । कारबाहीस्वरूप गजुरी गाउँपालिका–२ स्थित शुभलक्ष्मी होटल एण्ड रेष्टुरेन्टलाई २५ हजार रुपैयाँ, मन्दिरा होटल एण्ड रेष्टुरेन्टलाई २५ हजार रुपैयाँ, गल्छी गाउँपालिका–७ स्थित महाँकाल डेरी उद्योगलाई २५ हजार रुपैयाँ, थाक्रे गाउँपालिका–७ स्थित दिव्यांशी होटल एण्ड लजलाई २५ हजार रुपैयाँ तथा धुनीबेँसी नगरपालिका–७ स्थित दीपशिखा होटल एण्ड लजलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

 

 

अनुगमनमा क्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले उपभोक्ताको हक हित र अधिकारको सुरक्षा गर्नु राज्यको दायित्व रहेको भन्दै आफ्नो अधिकार उपभोग गर्ने क्रममा कोहि पनि उपभोक्ता ठगिमा परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत गर्न सकिने स्पष्ट पार्नुभयो ।

 

 

जिल्ला बजार अनुगमन समितिले उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ । साथै व्यवसायीहरूलाई सरसफाइ, खाद्य सुरक्षा तथा प्रचलित कानुनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल