त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हात्तीपाइले (फाइलेरिया) रोगबाट प्रभावित बिरामीहरूका लागि "स्वयं हेरचाह सम्बन्धी अभिमुखीकरण तथा सामग्री वितरण कार्यक्रम" सम्पन्न भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु उप्रेती प्रमुख अतिथि, गाउँपालिका उपाध्यक्ष देवराज धरेल विशेष अतिथि तथा वडा नं. १ का अध्यक्ष भिम प्रसाद भट्ट सभापतिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले हात्तीपाइलेबाट प्रभावित नागरिकहरूको स्वास्थ्य संरक्षण, सम्मानजनक जीवनयापन र रोगको जटिलता न्यूनीकरणका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्वयं हेरचाहसम्बन्धी ज्ञान र आवश्यक सामग्रीले बिरामीहरूको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

विशेष अतिथि धरेलले नियमित सरसफाइ, प्रभावित अंगको उचित हेरचाह र स्वास्थ्यकर्मीको परामर्शको पालना गरेमा हात्तीपाइले रोगबाट हुने जटिलताहरू कम गर्न सकिने उल्लेख गर्दै सहभागीहरूलाई सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यम बहादुर श्रेष्ठका अनुसार त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हाल करिब ३५ जना हात्तीपाइले (फाइलेरिया) रोगबाट प्रभावित बिरामी रहेका छन्। उहाँले स्वयं हेरचाह नै रोग व्यवस्थापनको प्रभावकारी उपाय भएकाले प्रभावित व्यक्तिहरूले दैनिक रूपमा प्रभावित अंगको सरसफाइ, व्यायाम तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार हेरचाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्वास्थ्यकर्मीहरूले हात्तीपाइले रोगको व्यवस्थापन, प्रभावित अंगको नियमित सफाइ, संक्रमणबाट बच्ने उपाय, व्यायाम तथा स्वस्थ जीवनशैलीका विषयमा सहजीकरण गरेका थिए। साथै सहभागी बिरामीहरूलाई स्वयं हेरचाहका लागि आवश्यक सामग्रीसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा हात्तीपाइलेबाट प्रभावित बिरामीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले रोगप्रति सचेतना बढाउनुका साथै बिरामीहरूको जीवनस्तर सुधार गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल