संस्कृति संरक्षणमा योगदानका लागि तमू ह्यूल छोंज धीं धादिङ सम्मानित, मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त ‘ललित प्रज्ञाश्री सम्मान–२०८३’

आइतबार, आषाढ २१, २०८३

theme

भाषा, कला, संस्कृति तथा साहित्य संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ र धादिङका मोतिकवि स्वर्गीय डिल्लीरमण शर्मा अर्याललाई विशेष सम्मान गरेको छ ।

 

 

सांस्कृतिक विमर्श तथा विशेष सम्मान समर्पण समारोहका अवसरमा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङलाई ‘धादिङ प्रज्ञा सम्मान–२०८३’ प्रदान गरिएको हो। परिषद्लाई नगद २० हजार ८१ रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै परिषद्का उपाध्यक्ष श्यामबहादुर गुरुङले प्राप्त सम्मानले गुरुङ समुदायको भाषा, कला, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा अझ सक्रिय भएर लाग्न थप प्रेरणा र हौसला मिलेको बताए ।

 

 

यसैगरी, नेपाली साहित्यमा अतुलनीय योगदान पुर्‍याएको भन्दै धादिङका मोतिकवि स्वर्गीय डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त ‘ललित प्रज्ञाश्री सम्मान–२०८३’ प्रदान गरिएको छ। अर्याललाई नगद २० हजार ८३ रुपैयाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो। उक्त सम्मान उनकी धर्मपत्नी विष्णुकुमारी अर्यालसहित परिवारका सदस्यहरूले ग्रहण गरेका थिए ।

 

 

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले साहित्य क्षेत्रमा स्वर्गीय अर्यालले पुर्‍याएको योगदान, साहित्यिक संस्था स्थापना गरी नयाँ पुस्तालाई प्रेरणा दिएको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान अर्पण गरिएको बताए ।

 

 

प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलका अनुसार सिद्धलेक गाउँपालिका–२ आप्रीछापमा वि.सं. १९८८ चैत ७ गते जन्मिएका अर्याल धादिङको साहित्यिक पहिचान स्थापित गर्ने अग्रणी स्रष्टामध्ये एक हुन्। उनले तत्कालीन नेवारपानी संस्कृत माध्यमिक विद्यालयबाट शिक्षण यात्रा सुरु गर्दै साहित्य क्षेत्रमा निरन्तर योगदान दिएका थिए। उनका २८ भन्दा बढी कृति प्रकाशित छन्। साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका अर्यालको २०७२ साउन ४ गते निधन भएको थियो ।

 

 

कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका नगरप्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले स्वर्गीय अर्यालले धादिङको साहित्य क्षेत्रमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताए। उनले अर्यालको साहित्यिक विरासत नयाँ पुस्ताका लागि मार्गदर्शन बनेको उल्लेख गर्दै प्रतिष्ठानले उनको योगदानलाई सम्मानित गरेर नयाँ पुस्तालाई चिनाउने महत्वपूर्ण काम गरेको बताए । नगरप्रमुख ढुंगानाले नीलकण्ठ नगरपालिकाले भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए । उनले तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङलाई गरिएको सम्मानले अन्य समुदाय र भाषाभाषीलाई समेत आफ्नो मौलिक संस्कृति संरक्षणमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल