जिल्ला होटल संघका अध्यक्ष र केन्द्रीय सचिवकै होटलमा किरा परेको खाना भेटियो, बजार अनुगमनमा कारबाही

मंगलबार, आषाढ २३, २०८३

theme

जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा जिल्ला अनुगमन समितिले राजमार्ग क्षेत्रका होटल तथा खाजा पसलमा गरेको बजार अनुगमनका क्रममा होटल व्यवसायी संघका पदाधिकारीहरूले सञ्चालन गरेका होटलसहित तीन होटलमा गम्भीर कैफियत भेटिएपछि जरिवानासहित सचेत गराएको छ ।

 

 

प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयको नेतृत्वमा पृथ्वी राजमार्ग आसपास सञ्चालनमा रहेका होटल तथा खाजा पसलहरूको अनुगमन गर्दा फ्रिजमा राखिएका खानेकुरामा किरा परेको, बासी तथा अस्वस्थकर खाद्य सामग्री बिक्री गरिएको र सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवालले सञ्चालन गरेको बेनिघाट रोराङ गाउँपालिका–३, सितलबजारस्थित होटल तीनभाइलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। उक्त होटलमा बिक्रीका लागि राखिएका खानेकुरामा किरा परेको तथा सरसफाइको अवस्था कमजोर रहेको अनुगमन टोलीका सदस्य–सचिव तथा उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरीले जानकारी दिनुभयो ।

 

 

त्यसैगरी होटल व्यवसायी संघका केन्द्रीय सचिव सन्तोषकुमार थापाले सञ्चालन गरेको बेनिघाट रोराङ–३, सलाङघाटस्थित सफल होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।  होटलको फ्रिजभित्र राखिएको खानेकुरामा समेत किरा परेको, होटल परिसर जताततै फोहोर रहेको तथा सरसफाइको मापदण्ड पालना नगरेको पाइएपछि कारबाही गरिएको जनाइएको छ । यस्तै बेनिघाट रोराङ–३, सितलबजारस्थित ब्लु ह्यावन होटललाई सबैभन्दा बढी ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।  उक्त होटलमा बिक्रीका लागि राखिएको खानेकुरा तथा फ्रिजमा भण्डारण गरिएका खाद्य सामग्रीमा समेत किरा परेको, अत्यन्त फोहोर अवस्थामा खाद्य सामग्री बिक्री गरिएको र यसअघि गरिएको अनुगमनमा पनि कैफियत भेटिएकाले पुनः कडा कारबाही गरिएको अनुगमन टोलीले जनाएको छ ।

 

 

अनुगमनमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्का, अनुसन्धान कार्यालय प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशु सेवा कार्यालय प्रमुख डा. बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चुडामणि पुरी, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराई, धादिङ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रमेश अधिकारी तथा राष्ट्रिय उपभोक्ता मञ्च धादिङका अध्यक्ष नारायणलाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो । अनुगमन टोलीले राजमार्ग क्षेत्रका होटल तथा रेस्टुरेन्टहरूले सरसफाइ र खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।

 

 

प्रशासनले राजमार्ग क्षेत्रमा दैनिक हजारौँ यात्रुको आवागमन हुने भएकाले गुणस्तरहीन तथा अस्वस्थकर खाद्य सामग्री बिक्री गर्नेलाई कडा कारबाही गरिने र आगामी दिनमा बजार अनुगमनलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल